
सोमवार , कार्तिक २८, २०७९
भैरहवा, २८ कात्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगरबासीले दीपक बोहरालाई मत दिनुपर्नेमा जोड दिएका छन् । उनले आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित गल्लामण्डीमा आयोजित कार्यक्रममा भने, ‘भैरहवाको विकासको सुत्रधार नै दीपक बोहरा हो । यसैले तीनदलीय तालमेलबाट प्रतिनिधिसभा सदस्य रहनुभएका बोहरा र प्रदेश सभा सदस्य उम्मेदवार महेन्द्र यादवलाई मत दिनु नै भैरहवाको दीर्घकालीन विकासको लागि जरुरी छ । ’
नेकपा एमालेका नेता समेत रहेका अधिकारीले परिपक्व राजनीतिज्ञको रुपमा रहेका बोहरा र युवा तथा इमान्दारिताको परिचय बनाएका यादवको उम्मेदवारीले भैरहवाका मतदातामा उत्साह थपिएको समेत बताए ।
अधिकारीले कोभिडको समयमा बोहराको सहयोगमा क्वारेन्टाईन तथा कोभिड नियन्त्रण तथा रोकथामको लागि आवश्यक स्वास्थ्य सामग्री नगरमा प्राप्त नभएको भने धेरै समस्या पर्ने थियो भन्दै त्यतिबेलाको सहयोगलाई नगरबासीले सम्झिरहेको बताउँदै पदमा रहदा अथवा नरहदा जहिल्यै पनि भैरहवाको लागि काम गर्ने नेता बोहरा भएको बताए ।
अधिकारीले भने, ‘हामीलाई जनताको कुरा सुन्ने, हरेक मानिससँग सहजै भेटघाट गर्ने नेता चाहिएको छ । विकास गर्ने नेता चाहिएको छ । डायनामिक नेता चाहिएको छ । त्यो गुण बोहरा र यादवमा छ । ’
उनले सरकारमा बसेका राजनीतिक दलले अहिले जनताको लागि काम गर्न नसकेको र निर्वाचित भएपछि गर्ने भनेर आश्वसन दिनु गलत भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशको पूर्वमन्त्री कल्पना पाण्डेले मंसिर ४ गते भैरहवाबासीको लागि समृद्धिको आधार रेखा कोर्ने दिन भएको बताइन् । उनले भनिन, ‘मंसिर ४ गते हामी सबै नेपालीको लागि महत्वपूर्ण दिन हो, त्यसमा पनि भैरहवाबासीको लागि झनै अर्थपूर्ण दिन हो । हामीले विकासप्रेमी नेता दीपक बोहरा र महेन्द्र यादवलाई विजयी गराउन हलो र छातामा मतदान गर्नु जरुरी छ । ’उनले चुनाव चिन्ह राखेर चकलेट वितरण गर्नु गलत भएको बताइन् ।
एमाले, राप्रपा, जसपाका तालमेलबाट प्रतिनिधि सभा सदस्य रहेका दीपक बोहरा, प्रदेश सभा सदस्य रहेका महेन्द्र यादवको कोणसभामा गल्लामण्डी क्षेत्रका उद्योगी व्यवसायी तथा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको एमाले नेता रामदयाल गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij