२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा बालगृहलाई खाद्यान्न सहयोग

सोमवार , कार्तिक २८, २०७९

भैरहवा, २८ कात्तिक ।
भैरहवा बहुमुखी क्याम्पसमा बीबीए सातौं सेमेष्टरका दोस्रो ब्याचमा अध्ययनरत विद्यार्थीहरुले सिद्धार्थ बाल गृहलाई खाद्यान्न सहयोग गरेका छन् । बाल गृहलाई चामल, दाल, आलु, प्याज लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक जिलाजित केवट (राधे राधे)ले बताए । उनले भने, ‘खाजा खर्च कटाएर केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले बालगृहलाई खाद्यान्न सामग्री प्रदान गरेका छौं ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बीबीए कार्यक्रमका सहायक निर्देशक कृष्ण घिमिरेले विद्यार्थीहरुले पुनित कार्य गरेको बताए । उनले विद्यार्थीहरु अध्ययनसँग सामाजिक उत्तरदायित्वका कार्यमा पनि उत्तिकै अग्रसर भएको यो कार्यक्रमले दखाएको बताए । उनले भने, ‘विद्यार्थीहरुले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन क्याम्पसबाट पनि सक्दो सहयोग हुनेछ ।’

सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङले भैरहवा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले यसअघि पनि बालगृहलाई सहयोग गरेको बताइन् । उनले विद्यार्थीहरुले यसरी सहयोग गर्दा खुसीको अनुभुति भएको बताइन् । उनले भनिन्, ‘सरकारबाट बालगृहलाई कुनै सहयोग आएको छैन, तर भैरहवा क्षेत्रका सामाजिक संघ–संस्था र विद्यार्थीहरुको सहयोगले नै बालगृह सञ्चालन भइरहेको छ ।’