
शनिवार , कार्तिक २६, २०७९
बुटवल, २६ कात्तिक ।
मुलुककै नमुना बाइपासका रुपमा रहेको बुटवलको कालिकापथको विस्तार र सौन्दर्यकरणका कामलाई चाँडो पूरा गर्न स्थानीयले यहाँका नेताहरुको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सडकको विस्तार र सौन्दर्यकरणसंगै आकर्षक रात्रीकालिन बजारका रुपमा विकास गर्ने योजना समेत बनाउन माग गरेका छन् ।
साँघुरो र अतिक्रमित सडकलाई विस्तार गरी आकर्षक र यस क्षेत्रकै नमूना आन्तरिक बाइपासका रुपमा विकास गरिएको छ । उक्त सडकको योजना ल्याउने र कार्यान्वयनमा लैजाने नेताहरु कालिकापथकै घरदैलोमा आएका बेला यहाँका स्थानीयले उक्त आग्रह गरेका हुन् । एमालेले अगाडि सारेका कैयन योजनामध्येको एउटा यो कालिका पथ पनि हो ।
अहिले उक्त सडकको दुवैतर्फको निकास र केही क्षेत्रमा कालोपत्रे गर्न बाँकी छ । बाँकी रहेको कामलाई छिटो सक्न स्थानीयले माग गर्दै आएका छन् । कालिका पथका विभिन्न टोलमा बिहान पुगेका विष्णुप्रसाद पौडेल र लिला गिरीलगायतका नेताहरुले विकासका काममा नागरिक स्तरबाट पनि निरन्तर निगरानी र खबरदारीको खाँचो रहेको बताए । उनीहरुले निर्माण व्यवसायीका काममा निगरानी गर्न र आवश्यक परेका बेलामा जनस्तरको पनि सहयोग गर्न आग्रह गरे ।
निर्वाचन केन्द्रित कार्यक्रम लिएर बुटवल–९ कालिका पथ र त्यहाँका विभिन्न टोलमा पुगेका एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले नेता तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा उक्त सडकको विस्तारमा सुरुदेखि नै केन्द्रित रहेका लिला गिरी, महिला अगुवा ज्ञानु केसीसहित पूर्व जनप्रतिनिधिहरुको टोलीलाई स्थानीयले अधुरो काम छिटो पूरा गर्न माग गरेका थिए ।
नमुना सडकका रुपमा विकास गरिएको कालिकापथको बाँकी काम पूरा गर्न र हरियालीसहितको फुटपाथ निमाणको अधुरो कामलाई चाँडो सकेर शौन्दर्यकरण गर्न माग गरिएको वडाका अगुवा बाबुराम बोहोराले बताए ।
सडक विस्तारका काममा सुरुदेखि नै खटिएका युवा नेता बाबुराम पन्थी, पर्यटन व्यवसायीहरु माधवकुमार नेपाल, रामप्रसाद गौतम, माधवकुमार खनाल, उपभोक्त हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसी, मोहन पाण्डे, पूर्व वडाअध्यक्ष विष्णुबहादुर थापा, एमाले नेता भोजबहादुर बुढाथोकी, नागरिक अगुवा शिवबहादुर अधिकारी, महिला अगुवा बिमला श्रेष्ठ, अग्रज पत्रकार बद्रीनाथ पाण्डे लगायतका अगुवाहरुले कालिका पथको विस्तारले बुटवलको मुहार फेरिएको भन्दै चाँडो निर्माण सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।
विकासका अधुरा काम पूरा गर्ने प्रतिवद्धता
बुटवल मुलुककै आर्थिक केन्द्र हो । अहिले मुलुकको यो प्रमुख आर्थिक केन्द्रलाई थप विस्तार गरि बर्दघाट–शिवराज बृहत् लुम्बिनी मेगासिटीको अवधारणा अगाडि सारिएको छ । अवधारणालाई साकार पार्ने र यसक्षेत्रमा अधुरा रहेका विकासका काम पूरा गर्ने एमाले उम्मेदवारहरुको प्रतिवबद्धता छ । उनीहरुले एमालेको नेतृत्वमा सुरु भएका कामको पूर्णता पनि आफुहरुकै अगुवाईमा हुने प्रतिवद्धता जनाएका छन् । नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई जोडेर बृहत मेगासिटी बनाउने अवधारणा सार्वजनिक भएको छ । यसको गुरुयोजना बनाउने प्रक्रिया सुरु भइसकेको एमाले नेता पौडेलले बताइसकेका छन् ।
नदी किनारका बस्तीलाई सुरक्षित बनाइने
सबैभन्दा धेरै जनसंख्या रहेको बुटवल वडा नम्बर ११ का विभिन्न टोलहरुमा शनिबार भएका चुनाबी कार्यक्रममा सहभागी एमाले नेता विष्णुप्रसाद पौडेल र लिलागिरीलगायतका नेताहरुले तिनाउ र दानव नदि किनारमा रहेका बस्तीलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता दोहोराएका छन् । नदी किनारालाई आकर्षक बनाउँदै त्यहाँ रहेका बस्तीको उचित व्यवस्थापन गरेर मात्रै विकासका ठूला आयोजना अगाडि बढाइने एमाले नेताहरुको प्रतिबद्धता छ ।
तिनाउ–दानव करिडोर, औद्योगिक विकास र जलपर्यटनसहितका गौरवका आयोजनालाई स्थानीयकै सल्लाह एवम् सहकार्यमा पूर्णता दिनुपर्नेमा आफुहरु दृढ रहेको उल्लेख गर्दै नेताहरुले कसैका पनि भ्रमपूर्ण र पूर्वाग्रह मिश्रित प्रतिक्रियाको पछि नलाग्न आग्रह गरेका थिए ।
स्थानीयहरुले आफुहरुलाई चित्त बुझाएर र उचित व्यवस्थापन गरेर मात्रै विकासका योजना साकार पारिने भन्ने एमालेको प्रतिबद्धताको स्वागत गरेको युवा नेता राजेन्द्र ढकालले बताए । वडाका सबै टोलहरुका अगुवाहरुमार्फत एमालेले अगाडि सारेका योजनाका बारेमा जानकारी गराइसकिएको नेता ढकालको भनाइ छ ।
तिनाउ–दानव नदी किनारमा रहेका बस्तीका बासिन्दाहरुप्रति लक्षित गर्दै नेता विष्णुप्रसाद पौडेलले उपयुक्त र सोही वडामै आवास तथा घडेरीको प्रबन्ध गरि करिडोरलगायतका विकासका आयोजना साकार पार्न बताइसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij