२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

रोटरी बुटवलले सुरु गर्‍यो ३० औं चार्टड नाइटको तयारी

शनिवार , कार्तिक २६, २०७९

बुटवल, २६ कात्तिक ।
रोटरी क्लब अफ बुटवलले ३० औं चार्टड नाईट कार्यक्रमको तयारी सुरु गरेको छ । आगामी मंसिर १५ गते आयोजना गरिने चार्टड नाइटका लागि क्लबले तयारी सुरु गरेको हो ।

क्लबको शनिबार बसेको १४ सय ३८ औं बैठकमा क्लबका अध्यक्ष बोनिन पियाले यसबारे जानकारी गराएका हुन् । उनले चार्टड नाईटका लागि आवश्यक तयारीका काम अगाडि बढाइएको र उक्त कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन थप गृहकार्य र छलफल गरी अगाडि बढिने जानकारी दिए । क्लबले चार्टड नाइटका अवसरमा पूर्व अध्यक्षहरुलाई सम्मान गर्नेदेखि लिएर विभिन्न विधामा अवार्ड प्रदान गर्ने गर्छ । क्लबले हरेक वर्ष डिसेम्बर १ मा चार्टड नाइट कार्यक्रम आयोजना गर्ने गर्छ । 

शनिबारको बैठकको बिजनेश एजेण्डा अन्तर्गत चार्टड नाइटबारे जानकारी गराउँदै अध्यक्ष पियाले उक्त दिन सक्रियतापुर्व परिवारसहित उपस्थित हुन सम्पूर्ण रोटरीयनहरुलाई आग्रह गरे ।

बैठकका अवसरमा रोटरी भवनमा ट्रष्ट निर्माणका लागि बुटवल उपमहानगरपालिकाबाट ७ लाख रुपैयाँ बिनियोजन भएको र यसको निकासाका लागि प्रक्रिया अगाडि बढेको जानकारी गराइएको थियो । त्यस्तै ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत ब्लड कलेक्शन मोवाइल भ्यान खरीदका लागि विभिन्न कारणले ढिला हुन पुगेको र जसका कारण लागत बढ्न गएको पनि जानकारी गराइएको थियो । यो प्रोजेक्ट अन्तर्गत ब्लड कलेक्शन मोबाइल भ्यान खरीदका लागि ६२ लाख रुपैयाँ जम्मा भएको छ । लागत बढेका कारण बाँकी नपुग रकम रक्त सञ्चार सेवा केन्द्रलाई सहयोगका लागि आग्रह गरिएको र यो वर्ष भ्यान खरीद गरिने अध्यक्ष पियाले जानकारी दिए ।

त्यस्तै शंकरनगर वनवाटिकामा बालबालिकाका लागि “तारा मण्डल” स्थापना काम अगाडि बढेको, देवदह मेडिकल कलेजमा ब्लड बैंक स्थापनाका लागि ग्रालेबल ग्रान्टमा पेश गर्ने तयारी गरिएको, लेमन गार्डेन निर्माणको काम अगाडि बढाइएको लगायतका क्लबका गतिविधिबारे जानकारी गराइएको थियो ।

बैठकमा क्लबका सचिव लालहरि पाण्डेले अघिल्लो नियमित बैठक र बोर्ड बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । क्लबका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा रोटरीयनहरु मणिरत्न पाण्डे, डा. लेखजङ्ग थापा, जेपी कंडेल, दिवाकर घिमिरे लगायतले पनि बोलेका थिए । 

बैठकले क्लबका पूर्वअध्यक्ष हिरण्यमान थैवको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।