२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

आम्दा अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गरिनेछ : गिरी

बुधवार , कार्तिक २३, २०७९

बुटवल, २३ कात्तिक । 
लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर २ (१) का उम्मेदवार लिला गिरीले दिपनगरमा रहेको आम्दा अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने बताएका छन् ।

बाल तथा प्रसुती सेवालाई विशिष्टकृत अस्पतालको रुपमा विकास गरेको खण्डमा अस्पतालबाट आमजनताले सस्तो र विशिष्टकृत सेवा पाउने उनको भनाइ छ । अहिले पनि आम्दा अस्पतालमा रुपन्देहीबाट मात्र नभइ छिमेकी जिल्लाहरुबाट समेत बालबालिका तथा प्रसुती सेवाका लागि आउने गरेको बताउँदै अस्पतालमा आमा सुरक्षा कार्यक्रमलाई समेत अघि बढाउन पहल गरिने बताए । अहिले आमा सुरक्षा कार्यक्रम आम्दाबाट सुरु नभएको गुनासो चौतर्फी आएको भन्दै आमा सुरक्षा कार्यक्रम संगै अस्पताललाई अन्य विशिष्टकृत विकास गरिने उनले बताए । बुटवल–७ मा भएको घरदैलो कार्यक्रममा बोल्दै उनले अक्सिजन प्लान्टको व्यवस्थापन गर्नतर्फ पनि आफू लाग्ने उनले बताए ।

जनतालाई सर्वसुलभ सेवा र गुणस्तरिय सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको भन्दै नेता गरीले अस्पतालमा आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकहरु थप गर्दै लैजाने समेत बताए । ‘अहिले पनि यो अस्पताल नमूनाका रुपमा रहेको छ । यसलाई बालबालिका र प्रसुती सेवामा अझ बढी अब्बल गर्न आवश्यक पूर्वाधार निर्माणसँगै अत्याधुनिक ल्याब समेत सञ्चालनका लागि योजना अघि बढाउने छौ ।’ उनले भने ।

साथै उनले आम्दाको अलवा स्वास्थ्य क्षेत्रमा एमालेले सैनामैनामा निर्माण प्रक्रियामा रहेको ट्रमा सेन्टरको निर्माण गर्ने, तिलोत्तमा सरकारीस्तरको आधुनिक एवं सुविधा सम्पन्न डायग्नोस्टिक सेन्टर निर्माण गर्ने, प्रत्येक वडामा आवश्यकताअनुसार दक्ष चिकित्सक, ल्याब र बाल तथा प्रसुती सेवासहितका शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने योजना बनाएको बताए ।

घरदैलो अभियानमा मतदाताले नेता गिरीलाई अधुरा र कतिपय बिग्रन लागेका सडकहरु मर्मतमा ध्यान दिन आग्रह गरेका थिए । साथै उनीहरुले खानेपानी समस्यालाई गम्भिर रुपमा लिएर समाधान गर्न पनि सुझाव दिएका थिए । जवाफमा नेता गिरीले कालोपत्रे बाँकी गर्न रहेका सडकहरुका साथै ग्राभेलिङ भएका सडक निर्माणलाई आफूले प्राथकिताका साथ राखेर काम गर्ने बताए । साथै उनले खानेपानीको सम्बन्धमा एमाले नेतृत्वको सरकारले झुम्सा खानेपानी योजनालाई ड्रिम प्राजेक्टका रुपमा अघि बढाएको भन्दै झुम्सा खानेपानी एमाले नेतृत्वको सरकार बन्न साथ बाँकी कार्यको सुरु गर्ने बताए ।

खानेपानी योजनामा केही प्राविधिक समस्या रहे पनि यो छिट्टै जनताको घरघरमा आउने उनको भनाइ थियो । त्यस्तै उनले सो अवसरमा बुटवल–७ भित्र रहेका आधारभूत तथा सरकारी विद्यालयहरुमा आवश्यक पूर्वाधार विकास गर्ने प्रतिवद्धता समेत जनाए ।