
बुधवार , कार्तिक २३, २०७९
तिलोत्तमा, २३ कात्तिक ।
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले जनताको हित र देशको विकासका लागि एमालेको जीत अपरिहार्य भएका बताएका छन् । रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वकर्माले आम जनताको हित, देशको विकास र राष्ट्रियताको रक्षाका लागि एमालेसँग मात्रै स्पष्ट भिजन र एजेण्डा रहेकाले एमालेलाई जिताउन अपील गरेका छन् ।
बुधबार तिलोत्तमा नगरपालिका वडा नम्बर ७ र ९ का विभिन्न स्थानमा घरदैलो र कोणसभामा बोल्दै नेता विश्वकर्माले एमाले जनताको भावना अनुसार काम गर्ने पार्टी भएको समेत बताए ।
उम्मेदवार विश्वकर्माले क्षेत्र नम्बर १ लाई सडक, शिक्षा, स्वास्थ्य पर्यटन र कृषिमा नमूना बनाउने गरी एमालेले योजना अघि सारेको बताए । अव्यवस्थित बसोबासी, सुकुम्बासी र गाउँ ब्लकका जनतालाई लालपूर्जा र किसानलाई सिंचाई सुविधा दिने बताए । अहिले गठबन्धन सरकारका कारण महंगी र भ्रष्टाचार बढेको भन्दै यसलाई रोक्न एमाले, राप्रपा र जसपाको गठबन्धनलाई जिताउन आग्रह गरे ।
प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले एमाले नेतृत्वको सरकारमा अघि सारेका विकास योजनाहरु पूरा गर्न आफू उम्मेदवार भएको भन्दै तिनलाई पूरा गरेरै छाड्ने बताए ।
घरदैलोका क्रममा जसपा नेता ब्यासमुन चौधरी र राप्रपाका नेताहरुको पनि सहभागीता रहेको एमाले क्षेत्रीय संयोजक हिमाल पाण्डेले बताए । घरदैलोका क्रममा मतदाताले एमाले नै आफूहरुको रोजाइको पार्टी हो भन्दै उम्मेदवारलाई आशीर्वाद दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij