२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

अक्सबृजमा ल्याब, सिभिल र कृषि विषयका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

बुधवार , कार्तिक २३, २०७९

बुटवल, २३ कात्तिक । 
प्राविधिक शिक्षामार्फत दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित स्थापित अक्सबृज ईन्टरनेशनल एकेडमीमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत, अभिमुखीकरण तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीमा ल्याब, सिभिल र कृषि विषयका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष एवं मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले सीपमुलक प्राविधिक शिक्षा प्रदान गरी राष्ट्रलाई योगदान पुर्याउने मूल उद्देश्य रहेको बताए ।

सभापति खनालले शिक्षालाई उत्पादनसँग, उत्पादनलाई बजारसंग र बजारलाई समृद्धिसंग जोड्न सकेमा मात्र राष्ट्र आत्मनिर्भर बन्ने उल्लेख गर्दै आत्मनिर्भर राष्ट्रले राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौमिकताको सबल रुपमा संरक्षण गर्न सक्ने दावी गरेका छन् । सीटिईभिटी लुम्बिनी प्रदेश कार्यालयका प्रमुख गोपाल प्रसाद आचार्यले वर्तमान अवस्थामा प्राविधिक शिक्षा उद्यमशीलता, स्वरोजगार, उत्पादन, सृजनशिलता र आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएको बताए । 

सो अवसरमा संस्थाका निर्देशक डिपी खनाल, प्रमुख प्रशिक्षक केशव कहादुर महत, प्रशिक्षक सागर भुसाल, पत्रकार हरिश ढकाल, विद्यार्थी सन्दिप धवल लगायतले प्राविधिक शिक्षा वैज्ञानिक, गुणस्तरीय, सर्वसुलभ र सबैको सरल पहुँचको बनाउन सरकारले विशेष नीति अबलम्बन गर्नुपर्ने कुरामा जोड दिएका थिए । करिब ३ करोड रुपैयाँको लगानीमा स्थापना भएको अक्सबृज ईन्टरनेशनल एकेडमीमा ल्याब, सिभिल र कृषि विषयका १ सय १० जना विद्यार्थी अध्ययनरत रहेको निर्देशक डिपी खनालले बताए । 

विगत करिब अढाई दशकदेखि विदेशी भाषा शिक्षामा अध्ययन अध्यापन गराउँदै आएको अक्सबृजले यसअघि स्वास्थ्य सेवातर्फका अनमी, सिएमए लगायतका प्राविधिक शिक्षाहरु पनि सञ्चालन गरेको थियो भने अब निकट भविष्यमै स्वास्थ्य सेवातर्फकै हेल्थ असिस्टेन्ट एचए कक्षा पनि सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको समेत निर्देशक खनालले जानकारी गराए ।