२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

देवदहमा बौद्ध विश्वविद्यालय बनाउँछौं : छविलाल विश्वकर्मा

मंगलवार , कार्तिक २२, २०७९

देवदह, २२ कात्तिक ।
नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले देवदहमा एमालेको पहलमा लुम्विनी बौद्ध विश्वविद्यालय स्थापना हुन लागेको बताएका छन् । बौद्ध विश्वविद्यालयको भवन निर्माणका लागि एमाले नेतृत्वमा सरकारको पालामा सय बिघा जग्गा व्यवस्थापन भइसकेको र अब भवनहरु बनाई पढाई सञ्चालनका लागि एमालेले पहिलो प्राथमिकतामा राखेको उनले बताए । 

प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वकर्माले देवदहमा बौद्ध विश्वविद्यालय सञ्चालनमा आउँदा सयौं जनालाई रोजगारी सिर्जना हुने र यसले शिक्षाको क्षेत्रमा रुपन्दही क्षेत्र नम्बर १ अब्बल हुने बताए ।  उम्मेदवार विश्वकर्माले सुकुम्वासी र अव्यवस्थित बसोवासी समस्या समाधान गर्न एमाले सरकारले कानून निर्माण गरी काम गरिरहेको अवस्थामा सरकार ढालिएपछि लालपुर्जा दिन नसकिएको भन्दै अब एमालेको पहिलो काम लालपुर्जा दिने हुने बताए । 

देवदह नगरपालिका वडा नम्बर ३, ८ र ९ मा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचना प्रचारप्रसार कार्यालय उदघाटन तथा घरदैलो कार्यक्रममा बोल्दै विश्वकर्माले क्षेत्र नम्वर १ मा विकासको रेखांकन भइसकेको र यसलाई पूर्णता दिन एमाले, राप्रपा जसपाको जित आवश्यक भएको बताए । घरदैलोका क्रममा क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार राप्रपा नेता आशिष चौधरीले जनताको सल्लाह सुझाव लिएर यस क्षेत्रको विकास गर्ने बताए । 

यसैबीच रुपन्देही १ (२) मा एमाले राप्रपा जसपाको साझा उम्मेदवार दधिराम न्यौपानेले तिलोत्तमाको वडा नम्बर ८ र १२ मा घरदैलो गरेका छन् । सो क्रममा उम्मेदवार न्यौपानेले मंसिर ४ को चुनाव राष्ट्रियता जोगाएर  देश समृद्ध बनाउने र विदेशीको इशारामा चल्ने गठबन्धनबीचको लडाई भएकाले एमाले राप्रपा जसपा गठबन्धनको जीत अपरिहार्य रहेको बताए ।