
सोमवार , कार्तिक २१, २०७९
लुम्बिनी, २१ कात्तिक ।
नेकपा एमालेले रुपन्देहीको क्षेत्र नम्बर ५ मा कम्तिमा एक सय शैयाको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । आफ्नो क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा एमालेले लुम्बिनी आसपासमा सुविधासम्पन्न अस्पताल निर्माणको योजना अघि बढाएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा एमाले उम्मेदवारहरुले मतदातासँग निःशुल्क स्वास्थ्य सुविधा उपलब्धताको लागि उपस्वास्थ्य चौकीहरुलाई आधुनिक सुविधा सहितको स्वास्थ्य चौकीमा स्तरोन्नती गर्ने प्रतिवद्धता समेत जनाएका छन् । क्षेत्र नम्बर ५ मा नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरी प्रतिनिधिसभा सदस्य पदमा बासुदेव घिमिरे र प्रदेश सभा सदस्य पदमा भूमिश्वर ढकाल तथा रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घिमिरेले तिलोत्तमा नगरप्रमुख हुँदा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सरसफाई, सामाजिक सशक्तिकरणका क्षेत्रमा गरेका नमूना कामका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका मुलुककैं नमूना नगरपालिका बन्न सफल भएको छ । उम्मेदवार घिमिरेले सबै पालिकामा सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर बनाइने, रक्त सञ्चार केन्द्र स्थापना गरिने, सबै तहका स्वास्थ्य सेवा केन्द्र तथा अस्पतालमा दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको व्यवस्था मिलाइने बताए ।
यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले सालझण्डीमा रहेको सर्पदंश अस्पताललाई स्तरोन्नति गर्दै लुम्बिनी आसपासमा अर्को सर्पदंश अस्पताल निर्माण गर्ने, प्रस्तावित ट्रमा अस्पताललाई निर्माण सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने जस्ता स्वास्थ्यसँग सम्बन्धित विषयलाई प्रतिवद्धतामा समेटिएको बताए । जटिल स्वास्थ्य समस्याका रुपमा बढ्दै गरेका मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मृगौला रोग, क्यान्सर, कलेजो लगायतका रोगको परीक्षण तथा उपचारमा नागरिको सहज पहुँच पुग्ने कार्यक्रम ल्याइने समेत उम्मेदवारहरुले बताएका छन् ।
प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका, विपन्न नागरिकलाई स्वास्थ्य बीमामा राज्यद्धारा लगानी गरिने व्यवस्था मिलाइने बताए । एमालेले महिला स्वास्थ्य स्वयंम्सेविकाहरुको पारिश्रमिक समयानुकल बनाउन पहल गरिने, महामारी, सरुवा रोग निर्मूल पार्नको लागि आवश्यक व्यवस्था मिलइने लगायतका विषयलाई प्रतिवद्धतामा उल्लेख गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij