
सोमवार , कार्तिक २१, २०७९
भैरहवा, २१ कात्तिक ।
जलवायु न्यायका लागि भैरहवामा साईकल यात्रा–२०७९ आइतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जलवायु परिवर्तन आजको मुख्य समस्याको रूपमा रहेको र त्यसको न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताइन् । वातावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नुपर्ने र त्यसमा नगरपालिका सहकार्य गर्न तयार रहेको उनले बताइन् ।
जलवायु परिवर्तनका विषयहरुमा छलफलका लागि यस वर्ष इजिप्टमा आयोजना हुने २७ औं अन्तराष्ट्रिय जलवायु सम्मेलनको पूर्व सन्ध्यामा भैरहवामा साईकल यात्रा आयोजना गरिएको हो । दिगो विकास इन्ष्टिच्युटको आयोजनामा भएको ‘साईकल यात्रा’मा युथ फर कन्सरभेसन एन्ड सस्टिनेबल एगरिकल्चर, साईकल सिटी भैरहवा, र अन्य संस्थासँग आबद्ध ६० जना साईकल यात्रीहरुको सहभागिता रहेको थियो ।
‘जलवायु न्यायका लागि साईकल यात्रा’ भन्ने नारासहित बुद्धचोकबाट सुरु भएको कार्यक्रम देवकोटा चोक, मिलन चोक हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय हुँदै पुनः बुद्धचोकमा पुगेर समापन भएको थियो ।
जलवायु परिर्वतनका प्रकोपसँग जुध्नु परेका राष्ट्रहरुको ऐक्यबद्धता स्वरुप नेपालका भैरहवा, विराटनगर, पोखरा, काठमाडौं, धुलिखेल, हेटौंडा र धनगढीसहित देशका ७ वटा शहरमा एकैपटक साईकल यात्रा आयोजना भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij