शनिवार , कार्तिक १९, २०७९
भैरहवा, १९ कात्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका (बोर्डर) बन्द हुने भएको छ । नेपाल-भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म बोर्डर बन्द (शिल) गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । बैठकमा भएका सहमति कार्यान्वयन गर्न दुवै पक्ष सहमत हुने र सुरक्षाको भरपर्दो व्यवस्था गर्ने निर्णय भएको पाण्डेले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठक आयोजना गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । बैठकमा सीमावर्ती क्षेत्रमा दुवै पक्षवाट कानूनको परिपालना गराउने, सबै प्रकारका गैरकानूनी कार्यहरु नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने तथा दुवै पक्षबाट तीनदिन बोर्डर बन्द गर्ने विषयमा सहमति भएको अर्यालले जानकारी दिए । उनले भने, ‘सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखनका विषयमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने जाली नोट नियन्त्रण लगायतका साझा सवालहरुका विषयमा निर्णय भएको छ । उक्त निर्णय दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।’
शनिबार रुपन्देहीको सियारी गाउँपालिकास्थित छपियामा भएको बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिष्ट्रिक मजिस्ट्रेसहित सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij