२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

लुम्बिनी साँस्कृतिक नगरपालिकामा फोहोरमैला व्यवस्थापन कार्य सुरु

शुक्रवार , कार्तिक १८, २०७९

भैरहवा, १८ कात्तिक ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा बहुप्रतिक्षित र बहुसरोकारित विषयको रुपमा रहेको फोहोरमैला व्यवस्थापनको कार्य सुरु भएको छ । बिहीबार नगरपालिकाले मायादेवी मन्दिर प्रवेश गर्ने गेट नम्बर ५ को अगाडिदेखि फोहोर उठाउने र नाली तथा फुटपाथ सफा गर्न सुरु गरेको छ । नगरप्रमुख सजरुद्दिन मुसलमानले बिहीबारदेखि फोहोर व्यवस्थापनको कार्य प्रारम्भ भएको र यो कार्य निरन्तर हुने बताएका छन । उनले भने, ‘नगरपालिका आवश्यक पर्ने स्रोतसाधन र जनशक्तिको प्रबन्ध गरेर अगाडि बढ्नेछ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले फोहोरमैला व्यवस्थापनका लागि तत्काल सरसफाईकर्मी र नगरपालिका कै टिप्पर परिचालन गरि डम्पिङ गरिने बताए । तर यसले दीर्घकालिन समाधान नदिने भएकाले आधुनिक प्रविधिको प्रयोग गरिने गृहकार्य भइरहेको उनले उल्लेख गरे । उनले चाँडै नै नगरपालिकामा शून्य पोलिथिन तथा घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण अभियान चलाइने बताए । सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरुप कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने र नकुहिनेलाई पुनः प्रयोगमा ल्याउन प्लाण्ट स्थापना गरिने उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने, ‘लुम्बिनीको पवित्रता र बुद्धप्रतिको आस्था र विश्वासलाई कायम राख्न लुम्बिनीलाई स्वच्छ, सफा र हरियाली पर्यटकीय नगरीको रुपमा विकास गर्ने योजना रहेको छ । यसका लागि सरोकारवाला सम्पूर्ण नगरवासी, संघ–संस्था र नागरिक समाजको सहयोग र सक्रियता आवश्यक रहेको छ ।’

नगरपालिकाका राजनीतिक तथा प्रशासनिक सल्लाहकार मोहम्मद सइद खानले सरसफाईको सुरुवातले नगरको सरसफाईमा नयाँ अध्यायको सुरुवात भएको बताए । उनले भने, ‘यसले नगरवासीमा नयाँ आशा र उत्साह थपिएको छ ।’