२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

भैरहवामा ‘प्रथम सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९’ सुरु

शुक्रवार , कार्तिक १८, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १८ कात्तिक ।
    लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा बिहीबारदेखि भैरहवामा ‘प्रथम सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९’ सुरु भएको छ । मेला यही कात्तिक २७ गतेसम्म सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा सञ्चालन हुने क्लबले जनाएको छ ।

    मेलाको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले लायन्स क्लब अफ भैरहवा लिगेसीले राम्रो काम गरेको बताए । उनले सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले मेलाको आयोजना गर्नु सराहनीय कार्य भएको बताए । ४ महिना अघि स्थापना भएको क्लबले यस्तो कार्यक्रम आयोजना गर्नु आफैमा महत्वपूर्ण कार्य भएको उनको भनाइ छ । उनले भने, ‘मेलाले आर्थिक क्षेत्रलाई चलायमान बनाउँछ । ’ नगरप्रमुख खानले आफू काम गर्न सिद्धार्थनगर नगरपालिकाको मेयर पदको जिम्मेवारी सम्हालेकोले कम्तीमा १८ महिना समय दिन आग्रह गरे ।
    त्यस्तै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सिद्धार्थनगरको विकासले नेपालको विकासमा टेवा पुग्ने बताए । उनले लायन्सको उद्देश्य राम्रो भएको बताए ।
    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापना भएको क्लबले संस्कृतिको संरक्षणका लागि मेलाको आयोजना गर्नु महत्वपूर्ण कार्य भएको बताए ।
    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले लायन्स क्लबले मेलाको आयोजना गरे पनि सबैले सहयोग गर्नुपर्ने बताए ।
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले मेलालाई सिद्धार्थनगर नगरपालिकाले पनि सहयोग गर्नुपर्ने बताए ।
    श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले लायन्स भैरहवा लिगेसीको प्रयास सराहनीय भएको बताए ।
    क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले मेला बिहान ११ देखि राति ८ बजेसम्म सञ्चालन हुने बताए । उनले मेलामा प्रवेश शुल्क वापत रु. ७० तथा विद्यार्थी र बालबालिकाका लागि रु.५० तोकिएको जानकारी दिए । उनले भने, ‘मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहनेछ, त्यस्तै डान्स आइडल प्रतियोगिता समेत आयोजना हुनेछ, डान्स आइडलमा प्रथम पुरस्कार रु. ३० हजार ५ सय ५५, द्वितीय पुरस्कार रु. १५ हजार ५ सय ५५, तृतीय पुरस्कार रु. १० हजार ५ सय ५५ र सान्त्वना पुरस्कार रु. ५ हजार ५ सय ५५ प्रदान गरिनेछ ।’ मेलामा आउने दर्शकलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ख्याती प्राप्त भोजपुरी कलाकारको समेत प्रस्तुती रहने उपाध्यायले जानकारी दिए ।

    मेलामा स्थानीय कलाकारसँगै ज्योती मगर, प्रिति आले, हेमन्त शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, कर्णराज गिरी, प्रिति पासवान, बबिता धिताल लगायतको प्रस्तुति रहने उपाध्यायले जानकारी दिए । त्यस्तै भारतबाट कलाकार रितेश पाण्डे, समर सिंह, शिल्पीराज लगायत पनि मेलामा आउने उनले बताए ।

    मेलामा व्यवसायिक, कृषि, होटल रेष्टुरेण्ट, बाल उद्यान लगायत गरी ५० वटा बढी स्टल रहेको भनाइ छ । मेलामा ५० हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको उपाध्यायले बताए । मेलामा कुस्ती प्रतियोगिताको पनि आयोजना गर्ने उनले बताए ।

    सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा लिगेसीले सामाजिक गर्ने उद्देश्यले मेलाको आयोजना गरेको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए । मेलाको सह–आयोजक सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय र सहयोगी जे.एम.डी. ग्रुप बुटवल रहेको उनले जानकारी दिए ।

    लायन्स क्लब अफ भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक राजन शुक्लाको स्वागत तथा क्लबका सचिव नारायण प्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।