बुधवार , कार्तिक १६, २०७९
भैरहवा, १६ कात्तिक ।
पूर्वमन्त्री, राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक बोहराले क्षेत्रको दिगो विकासलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन् । उनले भने, ‘विगतमा पनि भैलुभुज, गौतमबुद्ध विमानस्थल, ६ लेन सडक, भैरहवा–लुम्बिनी सडक, रामापुर लुम्बिनी सडक, बनगाई मर्चवार सडक, ग्रामिण क्षेत्रमा विद्युतीकरण जस्ता कामको शुरुवात म सांसद् र मन्त्री हँुदा गरिएका पहलकदमी र प्रयासको उपलब्धी हुन् । आगामी दिनमा पनि धेरै काम गर्न छ । ’
नेता बोहराले आफूले जीवन पर्यन्त देशको विकासको लागि काम गरेको पनि बताए । उनले भने, ‘म दिगो विकासको योजनाका साथ विगतमा पनि काम गरेको छु र आगामी दिनमा पनि गर्नेछु । ’
उनले आफ्नो स्वास्थ्यलाई लिएर केही व्यक्तिले टिप्पणी गरेकोप्रति भने, ‘मेरो घाँटीमा सामान्य समस्या हो, चिकित्सकले केही समय भाषण गर्ने, जोडले बोल्ने काम नगर्नु मात्रै भनेका हुन् ।’ तर मेरो सामान्य घाँटीको समस्यालाई लिएर ठुलै अफवाह फैलाइएको सुने, म अहिले केही बोल्दिन अब ७/८ हप्तापछि घाँटीको समस्या निको हुन्छ अनि म बताउँछु ती झुठको खेती गर्नेहरुलाई । ’
उनले सम्पूर्ण मतदाताहरुलाई ढुक्क भएर आफ्नो पक्षमा उभिन र मतदान गर्न समेत आग्रह गरे । बोहराले संसदीय राजनीतिमा आफ्नो जीवनको अन्तिम उम्मेदवारी रहेको बताउँदै अर्काेपटक नयाँ अनुहार र युवा पुस्तालाई अगाडि सार्ने बताए ।
२७ वर्षको उमेरदेखि क्याबिनेटमा रहेर काम गरेको बताउँदै उनले आफनो जीवनको अन्तिम लक्ष्य समृद्ध रुपन्देही, समृद्ध नेपालको लागि नीति बनाउने र योजनाअनुसार काम गर्ने रहेको पनि बताए । उनले एमाले, राप्रपा र जसपाको उम्मेदवारले जिते मात्रै संविधानको रक्षा हुँदै राष्ट्रिय अखण्डता जोगिने पनि बताए ।
२०४१ सालमा आफ्नै पहलमा भैलुभुजा आयोजना शुरु गरेको उक्त आयोजना मार्फत रुपन्देहीको सिचाई तथा खानेपानीको समस्या समाधान भएको उनले बताए ।
उनले भैरहवामा डण्डा परियोजना, भैरहवा मण्डप, तिनाउ संरक्षण र तिनाउको पानीको उपयोग, कृषिलाई प्राथमिकता र मत्सय जोनको विकास र बजारीकरणमा विशेष जोड समेत दिने बताए ।
उनले भने, ‘हाम्रा योजना अब घोषणापत्रमा आइहाल्छन् तर पनि यति बुझुस कि हामी मानिसको जीवन कसरी समृद्ध बनाउन सकिन्छ, मान्छेलाई कसरी आत्मनिर्भर गराउन सकिन्छ । हाम्रा गाउँघरका उत्पादित कृषि उपजलाई कसरी बजारीकरण गर्न सकिन्छ, पर्यटन बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ र मानिसलाई कसरी खुसी बनाउन सकिन्छ भनेर नै गर्न सकिने कामसहितको योजना ल्याउँदैछौ । ’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij