२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने

मंगलवार , कार्तिक १५, २०७९

भैरहवा, १५ कात्तिक ।
जापान गोजुरियो कराते डो मिसन संघ नेपालको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने भएको छ । संघले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी सेमिनारबारे जानकारी गराएको छ ।

यही कात्तिक २० देखि २५ गतेसम्म हुने सेमिनारमा नेपाल, भारत, जापान लगायत देशका खेलाडी, प्रशिक्षक र प्राविधिक, संघका केन्द्रीय तथा जिल्लाका पदाधिकारी  गरी २ सय जना बढीको सहभागिता हुने जापान गोजुरियो कराते डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि.राना (काजी)ले बताए । सेमिनारमा कराँते खेलका ख्यातीप्राप्त प्रशिक्षक तथा जापान गोजुरियो कराते डो मिसन संघका संस्थापक केन्सी हिदियो वातानावे नाइन डनको सहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष सतिश कुमार चौधरीले जानकारी दिए । वातानावेको उपस्थितिले सम्पूर्ण कराँते खेलाडी उत्साहित हुने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘खेलाडीहरुमा खेलप्रति अझै उत्साह र उमंग बढ्ने हामीले विश्वास लिएका छौं ।’

बुद्ध र कराँतेबीचको सम्बन्ध पनि ऐतिहासिक रहेकोले पनि सेमिनार लुम्बिनीमा आयोजना हुन गइरहेको  र सेमिनारको माध्यमबाट लुम्बिनीको थप प्रचार हुने संघका सल्लाहकार तथा नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर केसीले बताए ।        

संघका अनुसार सेमिनारको उद्घाटन रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ स्थित कोटिहवाको मगर भवनमा हुनेछ । नेपालमा जापान गोजुरियो कराते डो मिसन संघको स्थापना सन् २००४ मा भएको थियो । संघमातहत नेपालभर ३० डोजो र भारतमा १५ रहेका छन् । जापान गोजुरियो कराँते डो मिसन संघले धेरैपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पीयनसीप अवार्ड जितेको संघका रुपन्देही जिल्ला अध्यक्ष उमेश थापा लाटोमगरले बताए ।