सोमवार , कार्तिक १४, २०७९
बुटवल, १४ कात्तिक ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले विगतमा आफू सरकारमा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
यसअघि आफु प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि बुटवल र तिलोत्तमा क्षेत्रका एक दर्जन बढी सडक तथा पार्कहरुको स्तरोन्नति र निर्माण गरेको उल्लेख गर्दै उनले बांँकी रहेका कतिपय कामलाई अबको कार्यकालमा पुरा गर्ने दावी गरे ।
अखिल नेपाल महिला संघ तिलोत्तमा–१ शंकरनगरको भेलालाई सोमबार सम्बोधन गर्दै नेता गिरीले भने–“एमालेकै पहल र अगुवाइमा धागो कारखानादेखि योगिकुटी हुंदै मगरघाट सम्मको सडकको स्तरोन्नतिको काम भइरहेको छ, शिवचोकदेखि प्रेमनगर जाने सडक, शंकरनगरको पुरानो सडक, शिवपुर सडक, शारदास्कुलदेखि तपाहा लाईनको सडक, बनबाटिका लगायतका सडकको स्तरोन्नतीको काम पनि हाम्रै अगुवाईमा भईरहेका छन्, अब बाँकी रहेका काम पनि हाम्रै अगुवाइमा अगाडी बढ्ने छन् ।”
गिरीले जनताले चाहना गरे अनुसारका सबै काम एकैपटक गर्न नसकेपनि गरेका काममा ईमान्दारीपूर्वक र मतदाताको शिर निहुरिन नदिने गरी गरेको दावी गरे । “म अहिले जहाँ छु एमाले र एमालेका कार्यकर्ताका कारण छु, अहिलेसम्म आफ्नो, पार्टीको र कार्यकर्ताको शिर निहुरिने गरी कुनै काम गरेको छैन र भोलिपनि त्यस्तो कुनै काम हुने छैन”–गिरीले भने ।
नेता गिरीले जनप्रतिनिधि हुने व्यक्ति जनताको समस्या ध्यानपूर्वक सुन्न सक्ने र समस्या समाधान गर्न सक्ने हुनुपर्ने बताए ।
कार्यक्रममा एमाले नेता एवं क्षेत्र नम्बर २ (१) का निर्वाचन परिचालन कमिटी संयोजक गोपाल भट्टराईले सत्ता गठबन्धनका कारण मुलुक पश्चगमनतर्फ जाने खतरा रहेको औंल्याउँदै मुलुकको अग्रगमन र दिगो विकासका लागि एमालेको जित अनिवार्य रहेको बताए ।
भट्टराईले केपी ओली नेतृत्वको सरकारले अगाडि सारेका विकास आयोजनाका काम पुरा हुँदा र राष्ट्रियता बलियो हुँदा एमाले बलियो हुन्छ भन्ने डरमा गठबन्धन रहेको बताए ।
निर्वाचन अनुगमन समितिका संयोजक टिकाराम घिमिरेले अहिलेको निर्वाचन केबल निर्वाचन मात्र नभई देशको समृद्धि चाहने र जसरी पनि सत्तामा चाहनेहरुको बीचको लडाई भएको उल्लेख गर्दै जनताले देशको समृद्धि चाहने एमालेलाई रोज्ने दावी गरे ।
अनेमसंघका वडा अध्यक्ष कमला ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु केशवराज न्यौपाने तामानाथ पाण्डे, देवी वाग्ले, भूमिका गौतम लगायतले एमालेलाई जिताउने गरी लाग्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij