सोमवार , कार्तिक १४, २०७९
भैरहवा, १४ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने बताएका छन् । उनले रुपन्देहीको तीव्र आर्थिक, भौतिक, तथा पूर्वाधार र मानवीय विकासका लागि आफू निरन्तर लागिपरेको जनाउँदै अहिले भइरहेको विकासको कामलाई अझै फराकिलो बनाउँदै लैजाने जनाए । गृहमन्त्री खाँणले हरेक दृष्टिकोणले रुपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै काँग्रेस र पाँचदलीय गठबन्धनले जिल्लालाई देशकै नमूना बनाउने विश्वास व्यक्त गरे ।
पाँचदलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्या खाँणले सोमबार बुटवल–१७, १८ र १९ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाको विकास र गौरवबृद्धिका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । ‘क्षेत्रबासीले मात्रै होइन्, जिल्ला र सिंगो मुलुकका नागरिकले मलाई र गठबन्धनलाई जुन किसिमको भरोसा गर्नुभएको छ, यसमा कुनै किसिमको कमी हुन दिँदैनौं’, उनले भने, ‘हरेक क्षेत्रमा समानुपातिक विकास गरेर रुपन्देहीलाई अग्रणी जिल्ला बनाएरै छाड्छौं ।’
२०४८ सालदेखि रुपन्देहीबासीले आफूलाई निरन्तर सहयोग, माया र सद्भाव देखाउँदै आएको स्मरण गर्दै गृहमन्त्री खाँणले जनताको भरोसालाई कहिल्यै कमी हुन नदिएको र आगामी दिनमा नदिने प्रष्ट पारे । ‘तपाईंहरुको यही मायाका कारण मैले जिल्लामा साना–ठूला सबै किसिमका योजनाहरु ल्याउन, कार्यान्वयन गर्न र सफल तुल्याएर जनताको जीवनमा परिवर्तनको महसुुस गराउन सफल भएको हुँ’, उनले भने, ‘केही मानवीय विकासमा योगदान दिने र ठूला परियोजना ल्याएर सम्पन्न गराउन पनि यसपटक गठबन्धनले फेरि जित्न जरुरी छ ।’
गौतमबुद्ध विमानस्थल, व्यापारिक मार्ग, सिंचाई तथा कृषिका साना–ठूला दर्जनौं योजना रुपन्देहीमा भित्र्याएर र ती योजनाहरु सफल तुल्याउन काँग्रेसले अग्रणी भूमिका खेलेको उनले स्मरण गराए । तिनाउ र दानव नदीले हुने गरेको कटान रोक्न आफू सिंचाईमन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम ल्याएर रोकथाम गरिएको जानकारी गराउँदै खाँणले यसलाई अब अझै प्रभावकारी बनाइने बताए ।
क्षेत्र नम्बर ३ (ख)का उम्मेदवार रामचन्द्र ढकालले गृहमन्त्री खाँणको पहलमा रुपन्देहीको विकासले फड्को मारेको बताउँदै अब नयाँ योजना ल्याउन र त्यसलाई सार्थकता दिन पनि गठबन्धनले जित्न जरुरी रहेको जनाए । उनले अबको विकास कंक्रिटको मात्रै भएर नहुने जनाउँदै मानवीय विकासमा पनि उत्तिकै ध्यान दिन जरुरी रहेको प्रष्ट्याए । उनले पछिल्लो पाँच वर्षमा यस क्षेत्रका प्रदेश सभा सदस्य रहेका नेताले कुनै पनि काम गर्न नसकेको जनाउँदै अब आफूले विकासको नेतृत्व लिने जिकिर गरे ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij