२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

अव्यवस्थित र सुकुम्बासीलाई लालपूर्जा प्राथमिकतामा : छविलाल विश्वकर्मा

आइतवार , कार्तिक १३, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • तिलोत्तमा, १३ कात्तिक । 
    नेकपा एमालेका सचिव तथा रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्माले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउँदै लालपुर्जा वितरण एमालेको प्राथमिकतामा रहेको बताएका छन् । आइतबार तिलोत्तमा नगरपालिका–१२ स्थित बर्मेलीटोल र मोहनाजोतमा निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै एमाले नेता विश्वकर्माले केपी ओली नेतृत्वको एमाले सरकारले सबै प्रक्रिया पुरा गरेर जग्गा नापजाँच गर्ने बेला सरकार ढलेको र पाँचदलीय गठबन्धनले भूमि आयोग नै खारेज गरेर लालपुर्जाबाट वञ्चित गरेको स्पष्ट पारे । 

    पूर्व कृषिमन्त्री समेत रहेका नेता विश्वकर्माले गठबन्धन सरकारले २ सय गुणा बढी राजस्व कायम गरेर अव्यवस्थित बसोबासीलाई लालपूर्जा लिनै नसक्ने बनाएको बताउँदै जनतालाई जग्गाको मालिक बनाउन एमालेको सरकार चाहिने बताए । 

    वर्तमान सरकारको बेवास्ताका कारण अलपत्र परेको रोहिणी जलाशययुक्त आयोजनालाई पूरा गरेर पर्यटन विकास र रोजगारी सिर्जना गर्न एमाले राप्रपा र जसपाको गठबन्धनको जीत आवश्यक भएको नेता विश्वकर्माले बताए । 

    रुपन्देही १ (२) का प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले सडक, सिंचाई लगायतका अधुरा योजना पूरा गर्न मतदाताको आग्रहमा आफू उम्मेदवार बनेको बताए । नेता न्यौपानेले रुपन्देही–१ को प्रतिनिधि सभा र २ वटै प्रदेश सभा क्षेत्रमा एमाले नेतृत्वका गठबन्धन १० हजार भन्दा धेरै मतले अगाडि रहेकाले जीत सुनिश्चित भएकाले उत्साहित भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे । 

    एमाले केन्द्रीय सदस्य शिव सुवेदीले मुलुकलाई सही नेतृत्व गर्न एमालेबाहेक अरु कसैले नसक्ने भएकाले अन्य दलबाट एमाले प्रवेश गर्ने लहर चलेकाले एमालेले अप्रत्यासित नतिजा ल्याउने बताए । 

    यसैबीच रुपन्देही–१ (२) मा आइतबारै पेशागत तथा बुद्धिजिवीहरुको भेला सम्पन्न भएको छ । भेलामा सहभागी बुद्धिजिवी र पेशाकर्मीहरुले राष्ट्रियताको रक्षा, मुलुकको विकास र समृद्धिका लागि एमाले नेतृत्वको गठबन्धनको जित अपरिहार्य भएकाले जनमत सिर्जनामा लाग्ने निर्णय गरेका छन् । भेलामा १(१) का प्रदेश सभा सदस्य उम्मेदवार आशिष कुमार चौधरीले पनि आफ्ना भनाइ राखेका थिए । 

    एमाले नेतृत्वको गठबन्धनले रुपन्देही १ मा कात्तिक १४ गतेबाट घरदैलो र मतदाता संवाद कार्यक्रम सञ्चालन गर्ने निर्वाचलन परिचालन कमिटी सचिव सुरेन्द्र श्रीले बताए ।