
आइतवार , कार्तिक १३, २०७९
भैरहवा, १३ कात्तिक ।
रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) को तीनदलीय तालमेलबाट लुम्बिनी प्रदेश सभामा उम्मेदवार रहेका जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले आफूलाई बोल्न भन्दा काम गर्न मन पर्ने बताएका छन् । उनले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै भने, ‘म बोलेर भन्दा काम गरेर देखाउन चाहन्छु ।’
यादवले दशकौदेखि राजनीतिक निष्ठाको साथ समग्र मधेशको विकास गर्दै सामाजिक सहअस्तित्व र आपसी भाईचारा अभिवृद्धिमा गरेको मिहिनेतको प्रतिफल जनताको मतदान प्राप्त गर्ने विश्वास समेत व्यक्त गरे । उनले आसन्न मंसिर ४ को निर्वाचनमा आफ्नो प्रतिष्पर्धा कोहीसँग नहुने गरी जनताले मत दिने आश्वासन दिएको जिकिर गर्दै केही अन्य उम्मेदवारले जनता झुक्काउने गरी सपनाको लड्डु बाडिरहेकोप्रति सचेत रहन आग्रह समेत गरे ।
यादवले भने, ‘मेरो शक्ति जनता हो, यही भैरहवाको धुलो, माटोमा हुर्किएको मलाई जनताले माया गरेर एकपटक सेवा गर्ने अवसर दिने मैले विश्वास लिएको छु । म यदि जनपक्षीय काम गर्न सकिन भने, जनताको आदेश नमानेर हिडे भने अर्काे निर्वाचनमा मलाई जस्तो कारवाही गरे पनि तयार रहनेछु । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij