२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

लागूऔषधको नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

सोमवार , कार्तिक ७, २०७९

भैरहवा, ७ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले युवाहरु लागूऔषध प्रयोग र ओसारपसारबाट टाढा रहनुपर्नेमा जोड दिएका छन् । लागूऔषधको प्रयोग र ओसारपसारले राष्ट्रका कर्णधार मानिने युवापुस्ताहरुको स्वास्थ्य जोखिममा पर्ने, विभिन्न कानूनविपरीतका कार्यमा संलग्न हुने जस्ता जोखिम बढ्ने भएकाले गृहमन्त्री खाणँले यसबाट सबै युवायुवतीहरु सचेत र सजग रहनुपर्ने बताए । उनले लागूऔषधको नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र रोकथाम तथा सचेतनाका कार्यक्रमहरु पनि गरिरहेको जनाए ।

पाँचदलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले सोमबार भैरहवामा आयोजित रुपन्देहीमा क्रियाशील रोटरी क्लबहरुसँगको छलफलमा बोल्दै युवाहरुलाई कुलतबाट जोगाउन र आगूऔषधको नियन्त्रणमा सरकारसँगै सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

‘तीनै तहका सरकारले आफ्नो तहबाट काम गरिरहेका छन्, यसमा रोटरी जस्ता सामाजिक संघसंस्थाहरुको साथसहयोगले लागूऔषधको दुव्र्यसनीलाई निर्मूल पार्न सहयोग पुग्छ’, उनले भने, ‘रुपन्देहीका धेरै रोटरी लगायतका सामाजिक संघसंस्थाले यस क्षेत्रमा काम पनि गर्नुभएको छ, आगामी दिनमा पनि गर्दै जानुहोला । यसमा सरकारको साथ र सहयोग रहन्छ ।’

गृहमन्त्री खाँणले युवालाई आफ्नो जीवन आफै वर्वाद पार्नु हुँदैन भनेर सचेत गराउनुपर्नेमा जोड दिए । सरकारले युवा लक्षित धेरै कार्यक्रमहरु ल्याएको र आउँदा दिनमा पनि ल्याउने बताउँदै उनले कुलतबाट टाढा रहन सबैलाई अपिल गरे । ‘युवाहरुले नयाँ योजना बनाउने, क्रियटिभ काम गर्ने र समाज, राष्ट्र निर्माणमा योगदान दिनुपर्छ’, उनले भने, ‘जीवनको उर्जावान र केही गरेर समाज तथा राष्ट्रमा स्थापित हुने उमेरमा कुलतमा फसियो भने राम्रो हुँदैन, घरपरिवार र राष्ट्रकै लागि पनि ठीक ठहरिँदैन । त्यसैले युवा उर्जावान हुनुपर्छ । नेतृत्वकर्ता बन्नुपर्छ ।’ उनले सुरक्षा निकाय, सरकारका विभिन्न निकायले लागूऔषध नियान्त्रण, रोकथाम र सचेतनाका क्षेत्रमा काम गरिरहेको बताए । सरकारी निकायलाई अझै प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लागूऔषध रोकथाममा सरकारले काम गर्ने गृहमन्त्री खाँणले प्रतिबद्धता जनाए । 

त्यस्तै नेपाल महिला संघ बुटवल उपमहानगरपालिका–१५ ले सोमबार सेमलारमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न योजना बनाएर अघि बढ्ने जनाए । उनले लामो संघर्षपछि राजनीतिक व्यवस्था परिवर्तन भए पनि अहिलेसम्म नागरिकको अवस्था परिवर्तन गर्न नसकिएको बताए । 

कार्यक्रममा विष्णुमाया शर्माको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचनमा महिला परिचालन समिति बनाएको घोषणा गरिएको थियो । 

भैरहवामा भएको कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ (क) का उम्मेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का नेता सन्तोष कुमार पाण्डेयले रोटरी क्लब र रोट्रयाक्ट क्लबलाई शहरी क्षेत्रको साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गरे ।