२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

बुद्ध टेलिभिजनको संवाददाता कार्यशाला गोष्ठी सम्पन्न

आइतवार , कार्तिक ६, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, ६ कात्तिक ।
    शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले संवाददाता कार्यशाला गोष्ठी तथा तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ  । बुटवलमा प्रधान कार्यालय रहेको टेलिभिजनले लुम्बिनी प्रदेशका १२ जिल्ला र गण्डकी प्रदेशको स्याङ्गजाबाट समाचार संप्रेषण गर्ने संवाददाताहरुका बीचमा २ दिनसम्म रुपन्देहीको छपियामा गोष्ठी गरेको हो । 

    टेलिभिजनले प्रत्येक वर्ष सञ्चालक समिति, कर्मचारी र संवाददाताको अनुभव आदानप्रदानसँगै  कार्यदक्षता वृद्धिको लागि गोष्ठीको आयोजना गर्दै आएको छ । सो अवसरमा टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजनलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट टेलिभिजनको रुपमा स्थापित गर्न संवाददाताहरुको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । उनले संवाददाताको गुनासो सुन्न र सम्बोधन गर्नको लागि प्रत्येक वर्ष गोष्ठीको आयोजना गर्दै आएको बताए ।  सल्लाहकार रामचन्द्र ढकालले गाउँगाउँमा रहेका संवाददाताहरु नै टेलिभिजनको मुख्य मेरुदण्ड भएको बताउँदै सामुदायिक टेलिभिजनले शहर बजारका मात्र नभएर गाउँघरका खबरलाई पनि प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनले सूचना सबैभन्दा ठूलो शक्ति रहेको बताए । निवर्तमान अध्यक्ष पृथ बहादुर फौदारले सञ्चारकर्मी समाज रुपान्तरणको दर्पण भएको र समाज रुपान्तरणमा संवाददाताहरुको भूमिका रहेको चर्चा गरे ।

    टेलिभिजनका कानूनी सल्लाहकार बुद्ध बहादुर थापाले सञ्चार गृहको मेरुदण्ड संवाददाता भए पनि मेरुदण्डलाई सधै चलायमान बानउन स्वस्थ रुपमा राख्नको लागि गोष्ठी महत्वपूर्ण सावित हुन सक्ने बताए । 

    टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले टेलिभिजन देशभर २४ सैं घण्टा प्रशारणमा रहेको जानकारी दिँदै समाचारमा लुम्बिनी प्रदेशलाई मुख्य प्राथमिकता दिएको जानकारी दिए । गोष्ठीमा टेलिभिजनका समाचार प्रमुख कपिल ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै समाचार शाखाको वार्षिक कार्यक्रम, मार्गचित्र र अवको कार्यभारका बारेमा सहजीकरण गरे । कार्यपत्रमाथि पाल्पा संवाददाता माधव अर्याल, अर्घाखाँची संवाददाता प्रेमनारायण आचार्य, स्याङ्गजा सम्वाददाता श्रीकृष्ण सिग्देल लगायतले सुझावसहितको टिप्पणी प्रस्तुत गरेका थिए । 

    सोही अवसरमा टेलिभिजनले भैरहवा संवाददाता रबिन्द्र प्रताप गुप्तालाई उत्कृष्ट संवाददाता घोषित गर्दै नगद ५ हजारसहित सम्मान गरेको छ । टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा टेलिभिजन कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।