२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

खेलाडी राष्ट्रका गहना हुन् : गृहमन्त्री खाँण

शुक्रवार , कार्तिक ४, २०७९

भैरहवा, ४ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको प्रोत्साह र खेल क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान, पूर्व खेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा सरकारले विशेष ध्यान दिने जनाए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेका उनले खेलले ब्यक्तिलाई अनुुशासित र स्वस्थ बनाउने मात्र नभै देशलाई नै अन्तर्राष्ट्रिस्तरमा चिनाउन काम गरेको जनाए । ‘खेल क्षेत्रको विकासबाट मुुलुुकको समग्र विकास गर्न सकिन्छ,’ मन्त्री खाँणले नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपाल सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको कार्यक्रममा भने, ‘पाँचदलीय गठबन्धन पनि खेल क्षेत्रको विकासमा प्रतिबद्ध छ ।’

निर्वाचन पछि पनि पाँच दलीय गठबन्धनको सरकार बन्ने दावी गर्दै उनले त्यसबेला खेलकुद मन्त्री खेल क्षेत्र बुुझेको, खेल र खेलाडीलाई माया गर्ने, खेल पूर्वाधारमा लगानी बढाउन सक्ने ब्यक्तिलाई मन्त्री बनाउन आफूले अधिकतम प्रयास गर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरे ।  ‘पाँच दलीय गठबन्धनको सरकारले खेल र खेलाडीको सम्मान गर्छ’, उनले भने, ‘निर्वाचन पछि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ । त्यसपछि खेलाडी, खेल क्षेत्र बुुझेका ब्यक्तिहरुसँग बसेर छलफल गरी खेल क्षेत्र र खेलाडीको बिकासका लागि दिर्घकालीन योजना बनाउँछौं ।’ उनले सधैं राष्ट्रलाई सिरमा राखेर खेलाडीले खेल खेल्ने भएकाले सरकारले मात्रै नभएर हरेक नागरिकलाई उनीहरुको सम्मान गर्नुपर्नेमा जोड दिए । उनले खेलका माध्यमबाट मुलुकको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्नेसमेत जनाए । ‘हामीले राम्रा अन्तर्राष्ट्रिय रंगशालाहरु बनायौं र यहाँ ठूला खेल आयोजना गर्यौ भने विदेशी खेलाडीहरु यहाँ खेल्न आउँछन्’, उनले भने, ‘खेलाडीसँगै अफिसियल, प्रशिक्षक, शुभेच्छुक पनि आउँदा नेपालको अन्तर्राष्ट्रिय जगतमा प्रचार–प्रसार हुन्छ, यहाँको आर्थिक गतिविधि बढ्छ ।’ उनले नेपाली खेलाडीहरुले विभिन्न अभावका बाबजुत राष्ट्रका लागि खेलिरहेको जनाउँदै यो समग्र देशका लागि खुशी र गौरवको विषय भएको बताए । ‘अहिले खेलिरहेका खेलाडी मात्रै होइन्, पूर्वखेलाडी, प्रशिक्षक लगायत खेलक्षेत्रसँग सम्बन्धित सबैले केही न केही अभावको सामना गर्नुपरेको छ, अभावबाट मुक्त गर्न हामी लागिपर्नेछौं, गठबन्धनले यसतर्फ ध्यान दिनेछ’, उनले भने, ‘सरकारले भोलिका दिनमा खेल पूर्वाधार विकास गर्दै सबै खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई आत्मसम्मान हुने व्यवस्था मिलाउने छ ।’

यस्तै, गृहमन्त्री खाँणले गठबन्धनले शुक्रबार सिद्धार्थनगर–६ मा आयोजना गरेको कार्यक्रममा बोल्दै खेल क्षेत्रलाई माथि उकास्न गठबन्धनको जित जरुरी रहेको दोहोर्याए । कयौं विधाका खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा रुपन्देहीले उल्लेखनीय टेवा पुर्याएको स्मरण गर्दै गृहमन्त्री खाँणले जिल्लाका सबै खेलकुदका पूर्वाधार विकासमा आफूले पहल गर्ने र आवश्यक बजेट छुट्याउन लागिपर्ने जनाए ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व खेलाडी सागर पुनले खेल क्षेत्रमा विगतमा भन्दा केही पूर्वाधार विकास भए पनि पर्याप्त नभएको, खेलाडीले खेल जीवनपछि अनेक दुःखकष्ट व्यहोर्नु परेको, रोजगारी नभएर भौतारिनु परेको, कतिपय राम्रा खेलाडी आर्थिक अभावमा खेल नै छाडेर विदेशिनु परेको गुनासो गरे ।