२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

अर्थमन्त्री पौडेल र नेपालका लागि कोरियाका राजदूत योङसिकबीच शिष्टाचार भेटघाट

बिहिवार , मंसिर २५, २०७७

काठमाडौं, २५ मंसिर ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटवार्तामा दुई पक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको छ । अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे । 
नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसी सहकार्य बढदै गएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले ‘ईपीएस’ (ईम्लाएमेन्ट प्रमिट सिस्टम) मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको बताए  । उनले कोभिड–१९ विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि धन्यवाद दिए । 

अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढाउन थप सहयोगको लागि आग्रह गरे । उनले कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरुका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने बताए । 

राजदूत योङसिकले कोरियन सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगका बारेमा जानकारी गराउँदै प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा सहयोग विस्तार गर्ने जानकारी गराए । उनले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने बताए । साथै ईपीएसमार्फत नेपाली रोजगारीका लागि कोरियामा कार्यरत जनशक्ति तथा त्यहाँबाट फर्केर आएका जनशक्तिलाई उद्यमशिलता प्रदान गरी व्यवसायिक बनाउने कार्यक्रम रहेको जानकारी गराए । 

राजदूत योङसिकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियन सरकारको सक्रिय योगदान हुने बताएका थिए  ।