२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

‘जुनोटिक रोग नियन्त्रणको लागि सचेतना आवश्यक’

शुक्रवार , कार्तिक ४, २०७९

भैरहवा, ४ कात्तिक ।
पशुपंक्षीसँगको लसपस, काँचो दूध, दही, मासु, काँचो तरकारी र हावाको माध्यमबाट सर्ने जुनोटिक रोगबारे सचेतनाको खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिकाले बिहीबार आयोजना गरेको जुनोटिक रोग सरोकारवालाहरुसंग छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस रोगबारे अझै पनि प्रयाप्त जानकारी नरहेको बताए ।

कार्यक्रमको सहजीकरण गर्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक परवेज आलमले अहिले विश्वमा वर्षमा सरदर एउटा नयाँ रोग देखिएको यसमा ७५ प्रतिशत सम्भावना पशुपंक्षीहरुबाट आएको देखिएको बताए । उनले विश्वमा देखिएको करिब १ हजार ५ सय संक्रामक रोगहरुमध्ये ६० प्रतिशत रोग पशुबाट सरेर आएको बताए । ‘हामीले खाने शाकाहारी, मांसाहारी सबै प्रकारका वस्स्तुहरुबाट यस्ता रोग सर्ने सम्भावना रहेको हुन्छ । ’आलमले भने, ‘यसको लागि आवश्यक सर्तकता र सचेतना नै मूख्य नियन्त्रणको आधार हो ।’ यी रोगहरु नियन्त्रणका लागि स्वास्थ्य क्षेत्र मात्र नभइ, पशु स्वास्थ्य, खाद्य, कृषि क्षेत्रका साथै स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वय आवश्यक रहेको उनले बताए । उनले यसको नियन्त्रणको लागि मानव स्वास्थ्य, पशुपंक्षीको स्वास्थ्य तथा वातावरणीय सरसफाईबारे सचेतना फैलाउन आवश्यकता औल्याए । आलमका अनुसार मानिस र पशुपंछीबीच एकआपसमा सर्न सक्ने वा संक्रमण हुन सक्ने रोगलाई जुनोटिक वा जुनोसिस रोग भनिन्छ । ‘मेरुदण्ड भएका पशु र मानवका बीच प्राकृतिक रूपमा सर्न सक्ने रोगहरू र संक्रमणलाई जुनोटिक रोगहरू वा जुनोसिस भनिन्छ ।’ आलमले भने ‘मानिसमा लाग्ने ६० प्रतिशत भन्दाबढी रोगहरु पशुपंछीबाट मानिसमा सरेको तथ्य पाइन्छ ।’

कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) गाउँपालिकाले यसअघि पनि पशुपंक्षीहरुकै लागि भने बजेट बिनियोजन गरेको बताए । उनले जुनोटिक रोग र यसबाट हुने प्रभावबारे अझै पनि स्थानियहरु अन्जान रहेको कारण यसबारे सचेतना नै प्रमुख नियन्त्रणको उपाय रहेको बताए । यसको लागि गाउँपालिकाले आगमी हिउदै अधिवेशनबाट नै विशेष बजेट छुट्टयाई वडा र घरदैलो सम्म नै सचेतनाका कार्यक्रम लैजाने उनले बताए ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षता, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक परवेज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, ओमसतिया–५ का वडाअध्यक्ष मदन कुमार पोखरेल, शिक्षा शाखा प्रमुख हरि पोखरेल लगायतले बोलेका थिए ।

कार्यक्रमको गाउँपालिकाका पशु शाखा प्रमुख सतिश रसाईली, बसन्तपुर स्वास्थ्य चौकीका प्रमुख प्रवेश ज्ञवालीले सहजीकरण गरेका थिए । शंकर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।