शुक्रवार , कार्तिक ४, २०७९
भैरहवा, ४ कात्तिक ।
भारतबाट कुखुराको अवैध आयात बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नाकाहरुमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । सुरक्षा निकायले सीमा नाकामा कडाइ नगर्दा अवैध पैठारी बढेको भन्दै किसान र व्यवसायी आफै तस्करी नियन्त्रणका लागि जुटेका थिए । एकहप्ताको बीचमा तीन लाख मूल्य बराबरको भारतीय कुखुरा, तीनवटा सवारीसाधनसहित चारजना व्यक्तिलाई व्यवसायीले नियन्त्रणमा लिएका छन्। सीमा नाकामा हुने अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी बल तैनाथ छ । त्यसबाहेक नेपाल प्रहरीले ठाउँठाउँमा निगरानी गरिरहेको छ ।
बुधबार पशु क्वारेन्टाइन कार्यालयले भारतबाट पशुजन्य पदार्थको अवैध आयात बढेपछि त्यसलाई रोक्न किसान, व्यवसायी, प्रहरी, प्रशासनका अधिकारी लगायतको उपस्थितिमा छलफल सञ्चालन गरेको थियो । छलफलमा अधिकांश किसानले प्रहरीले तस्करी रोक्न सहयोग नगरेको आरोप लगाए । व्यवसायीहरु तस्करी रोक्न राती पालैपालो नाकामा निगरानी गरेका छौँ, तस्कर पनि समात्यौँ । तर, सुरक्षाकर्मीले हामीले समातेका तस्करहरुलाई अनुसन्धान नगरी छोडेकोे छ । यसरी त तस्करको मनोबल झनै बढेन र ? व्यवसायी शंकर टण्डनले भने ।’ कडा कारवाही नगरी तस्करी नरोकिने उनीको दावी थियो ।
तस्करी रोक्न सुरक्षाकर्मीहरुलाई पटकपटक पहल गर्दा समेत सुनुवाई नभएको भन्दै व्यवसायी आफैले नाकामा निगरानी गर्न थालेका हुन् । निरीक्षणका क्रममा अवैध पैठारी गरेको भेटिए पक्राउ गरी प्रहरीलाई बुझाउने गरेका छन् । व्यवसायी आफै सक्रिय भएर अवैध क्रियाकलाप रोक्न जुटे पनि नियामक निकायको भने यसमा खासै चासो नदेखिएको व्यवसायीको गुनासो छ ।
भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध छ । कुखुराबाट रोग सर्ने भन्दै भेटिएका कुखुरा पशु क्वारेन्टाइन कार्यालयले नष्ट गर्ने गरेको छ । भारतमा नेपालमा भन्दा जिउँदो कुखुरा प्रतिकेजी ५० देखि एकसय रुपैयाँ सस्तो पर्छ । सस्तोमा कुखुरा पाइने भएपछि विभिन्न ठाउँमा सेटिङ मिलाएर नक्कली कागजपत्र खडा गरी नेपाल भित्राउने गरेको पाइएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख भक्त न्यूरेले बताए । सस्तोमा भारतबाट कुखुरा आएपछि स्थानीय उत्पादनले भने बजार पाएको छैन् । अवैध तस्करीले व्यवसाय मारमा परेको किसानहरु बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तस्करी रोक्न प्रहरी, प्रशासन, स्थानीय सरकार, व्यवसायी र अन्य सरोकारवाला निकाय सबै लाग्नुपर्ने बताए । खुला सीमा भएकाले चुहावट रोक्न समस्या भएको उनको तर्क थियो । स्थानीय तहहरुले बजार अनुगमनलाई तीव्र बनाउनुपर्ने उनको आग्रह थियो । अवैधानिक क्रियाकलाप रोक्न तीनै तहका सुरक्षा निकायलाई पनि उनले निर्देशन दिए ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मत्स्यपालक किसानले नेपालको उत्पादन भन्दै भारतबाट आएको गुणस्तरहीन माछा विक्री भइरहेको बताए । चोरी तस्करीको बाटो भएर सस्तोमा माछा आएपछि स्थानीय उत्पादनले बजार नपाएको किसानको गुनासो छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij