बुधवार , कार्तिक २, २०७९
भैरहवा, २ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले सिद्धार्थनगरको एकीकृत विकास आवश्यक रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएको सिद्धार्थनगरलाई व्यवस्थित, विकसित र स्मार्ट बनाउनुपर्नेमा जोड दिए । पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै ‘स्मार्ट सिद्धार्थनगर’को सुरुवात ‘सिद्धार्थ रिङरोड’ बनाएर गरिने जनाए ।
‘निर्वाचन सकिएलगत्तै सबै वडा, गाउँबस्तीलाई समेटेर सुरुमा रिङरोड निर्माणको काम अघि बढाइने छ’, उनले भने, ‘यसले सिद्धार्थनगरलाई विकसित सहरका रुपमा पहिचान दिनेछ ।’ निर्वाचन पछि रिङरोड बनाउन डीपीआर बनाउने र त्यसपछि निर्माणको काम सुरु गर्ने उनको भनाई छ । विकसित देशहरुमा सहरको पहिचान रिङरोड पनि भएको जनाउँदै गृहमन्त्री खाँणले ती देशहरुका जस्तै भैरहवालाई पनि सफा, सुन्दर, व्यवस्थित र विकसित गर्ने आफ्नो र पाँचदलीय गठबन्धनको लक्ष्य रहेको बताए । उनले रिङरोडले सहर र सहरभित्रैका बस्तीलाई जोड्दा स्थानीय उत्पादनको बजारीकरण, भित्री बस्तीहरुको सहरीकरण हुने र यसले सहरलाई थप उचाईमा पुर्याउने बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), नेपालकै दोस्रो ठूलो भन्सार नाका जस्ता कारण पनि रिङरोड आवश्यक भएको र स्मार्ट सिद्धार्थनगर जरुरी रहेको खाँणले प्रष्ट्याए । ‘यहाँ धेरै स्वदेशी तथा विदेशी पाहुनाहरु आउनुहुन्छ, यहाँ आउनेले आहा, सिद्धार्थनगर भन्ने वातावरण सिर्जना गर्छौं, त्यसका लागि नगरपालिकालाई आवश्यक पर्ने बजेट प्रदेश र संघ सरकारको समन्वयमा उपलब्ध गराउन मैले पहल गर्छु । यहाँ हुने कुनै पनि काममा बजेट अभाव हुन दिँदैन ।’
भैरहवा आर्थिक मात्रै नभएर पर्यटनको प्रचूर सम्भावना बोकेको ठाउँ भएकाले यहाँको विकास जरुरी रहेको उनको भनाई छ । ‘देशविदेशबाट आएका पर्यटकले सिद्धार्थनगरलाई साँच्चिकै गौतमबुद्धको सिद्धार्थनगर, एउटा नेपालको सुन्दर सहरका रुपमा प्राप्त गर्नसक्नुहुनेछ’, उनले भने, ‘यसका लागि हामीले हाम्रो सम्पूर्ण क्षमता, शक्ति र ताकतलाई प्रयोग गर्नेछौं । विकसित सिद्धार्थनगर बनाएर छाड्नेछौं ।’ गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकार लागि परेको जनाउँदै उनले विमानस्थल पूर्ण क्षमतामा चल्दा सबैभन्दा बढी लाभ भैरहवाबासीले पाउने भएकाले त्यहीअनुसार योजना बनाएर काम गर्न आफूले पहल गरिरहेको गृहमन्त्री खाँणले प्रष्ट पारे ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij