२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

आठ महिनाअघि बन्द गरिएको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि खुल्दै

बिहिवार , मंसिर २५, २०७७

काठमाडौं, २५ मंसिर । 
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सर्ने रोग कोभिड–१९ को संक्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहीबार (आज) देखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ । 

चिडियाखानामा प्रवेशका लागि जनस्वास्थ्यका मापदण्ड तयार गरिएको र यसको पालनामा कडाइका साथ लागू गरिने बताउँदै चिडियाखाना प्रमुख व्यवस्थापक डा. चिरञ्जीवी पोखरेलले प्रवेश टिकटमा डिजिटलाइजेसनको व्यवस्था गरिएको र अनलाइनमार्फत पनि टिकट काट्न सकिने ब्यबस्था मिलाइएको जानकारी दिएका छन् । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । 

चिडियाखानामा भिडभाड व्यवस्थापन गर्न एक पटकमा बढीमा ७ सयदेखि ८ सय व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको संख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै संख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था गरिएको व्यवस्थापक पोखरेलले बताए । त्यसै गरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खुल्ला रुपमा खेलाउन नपाउने जस्ता मापदण्ड तयार गरिएको छ । 

चिडियाखाना अवलोकनका गर्न विदेशीका लागि ७ सय ५०, सार्क राष्ट्रका पाहुनाका लागि ५ सय, नेपालीलाई १ सय ५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट मात्र वार्षिक  १५देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ । यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । हाल चिडियाखानामा १ सय १० प्रजातिका एक हजार ६८ वटा वन्यजन्तु रहेको चिडियाखाना व्यवस्थापनले जनाएको छ ।