
आइतवार , आश्विन ३०, २०७९
भैरहवा, ३० असोज ।
‘दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं’ भन्ने नारा का साथ २८ औं राष्ट्रिय कण्डम दिवस–२०७९ भैरहवामा पनि मनाइएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा शनिबार भएको कार्यक्रममा एचआइभी/एड्स र परिवार नियोजनमा काम गर्ने १० भन्दा बढी साझेदारी संस्थाहरुको सहभागीता रहेको थियो ।
देवकोटाचोकमा स्टल राखी एचआइभी/एड्स र यौन रोगबारे सचेतना फैलाउँदै विभिन्न प्रचारप्रसारका सामग्री र कण्डम वितरण गरिएको थियो ।
कार्यक्रममा नील हिरा समाजको सहयोगी संस्थाको रुपमा कार्य गर्दै आएको एक्लोलाई सहारा दिने वृक्ष समूह रुपन्देहीका कार्यालय प्रमुख मनिला न्यौपानेले समाजमा कण्डमबारे ज्ञान भएता पनि यसको प्रयोग कम भएकोले गर्दा यौनजन्य रोग र एचआइभी संक्रमितको संख्या थुप्रै रहेको बताइन् । उनले एचआइभीको अवस्थाबारे थाहा नभएको कारणले अरुलाई सार्ने जोखिम बढी हुने भएकाले एचआइभी र एड्सको रोकथाम र उपचारमा लागेका सरकारी अस्पताल लगायत साझेदारी संस्था एक्लोलाई साहरा दिने वृक्ष समूह, नमूना एकीकृत विकास परिषद, ए.एचफ., आस्था समूह, कपिलवस्तु इन्टीग्रेटेड डेभलपमेन्ट सर्विसेज जस्ता गैरसरकारी संस्थाको सम्पर्कमा आइ आफ्नो रगत परीक्षण तथा निःशुल्क परामर्श लिन सकिने बताइन् ।
एक्लोलाई सहारा दिने वृक्ष समूह रुपन्देहीका अनुगमन तथा मूल्यांकन अधिकृत सुदर्शन गौतमले समाजमा एचआइभी एड्स संक्रमितहरुलाई भेदभाप तथा लान्छनाका कारण एचआइभीको जोखिममा रहेकाहरु पनि रगत परिक्षण र परामर्श लिन खुलेर आऊन नसकेको बताए । उनले समाजमा करिब ३० हजार जना एचआइभी संक्रमित भएकाहरु सम्पर्कमा आउन नसकेको बताए ।
नमुना एकीकृत विकास परिषदमा कार्यरत राजन गुप्ता र ए.आर.टी.सेन्टरमा कार्यरत प्रभाकर यादवका अनुसार एचआइभी लागे पनि नियमित औषधी सेवन र समयमा चेकजाँच गरे बाँच्न सकिने कुरा प्रष्ट पारे । स्टलबाट करिब ५ हजार बढी कण्डम निःशुल्क वितरण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij