शनिवार , आश्विन २९, २०७९
भैरहवा, २९ असोज ।
निर्वाचनको रिपोर्टिङ गर्दा सबैभन्दा बढी संवेदनशील हुनुपर्ने सरोकारवालाले बताएका छन् । रुपन्देहीको तिलोत्तमामा शनिबार मिडिया एक्सन नेपालले आयोजना गरेको ‘फेयर मिडिया कभरेज अफ इलेक्सनन्स’ नामक एकदिने कार्यशालामा सरोकारवालाले उम्मेदवार तथा दलहरुले पत्रकालाई आफ्नो प्रचारप्रसारको माध्यम बनाउने सक्ने भएकाले अझ बढी संवेदनशील हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले निर्वाचनका बेला पत्रकारहरुले निष्पक्ष र स्वतन्त्र भएर रिपोर्टिङ गर्नुपर्ने बताए । निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकारहरुलाई माध्यम बनाएर आफनो प्रचारप्रसार गर्न सक्ने सम्भावना हुने भएकाले यस्ता गतिविधिबाट बच्न अझ बढी चनाखो बन्नुपर्ने बताए । पत्रकारले दलको पक्ष विपक्ष लिने भन्दा पनि आफनो अधिकारलाई भोट हाल्नेमा सीमित राख्नुपर्ने उनको भनाइ छ ।
कार्यशाला गोष्ठीमा अर्का प्रशिक्षक अन्नपूर्ण एक्सप्रेस साप्ताहिकका सम्पादक कमलदेव भट्टराईले पत्रकारले निर्वाचनका बेला उम्मेदवारका भनाइ राख्दा व्यक्ति विशेष नभई सबैलाई स्थान दिनुपर्ने बताए । पत्रकारले अडकलबाजी गरेर कुनै एक उम्मेदवारको पक्षपोषण गर्ने गरी समाचार लेख्नु गलत भएको उनको भनाइ छ ।
पत्रकार कल्पना आचार्यले निर्वाचनका बेला महिला उम्मेदवार, मतदाताको अपेक्षा, महिला सहभागिताको विषयलाई विशेष ध्यान दिनुपर्ने बताइन । निर्वाचनका बेला मतदान स्थल अपांगमैत्री भए/नभएको, गर्भवती, सुत्केरी, वृद्धवृद्धाहरुका लागि सहज भए/नभएको विषयमा पनि पत्रकारहरुले निगरानी राख्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न ४ जिल्लाका २५ जना पत्रकारहले आ–आफनो क्षेत्रमा भोगेका समस्याहरु राखेका थिए । कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका गरी ४ जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij