२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

आर्थिक समृद्धि र सशक्तिकरण बिना सामाजिक समावेशीकरण असम्भव : अध्यक्ष यादव

शुक्रवार , आश्विन २८, २०७९

भैरहवा, २८ असोज । 
रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले आर्थिक समृद्धि र सशक्तिकरण बिना लैंगिक समानीकरण र समावेशीकरण असम्भव भएको बताएका छन् । ओमसतिया गाउँपालिकाको आयोजनामा शुक्रबार सम्पन्न भएको लैंगिक समानता तथा सामाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आर्थिक समृद्धि र सशक्तिकरण बिना लैंगिक समानिकरण र समावेशीकरण असम्भव रहेकोले सीपसँगै व्यवसायिक तथा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने औल्याए ।

महिला, बालबालिका, दलित, आदिवासी जनजाति, विपन्न वर्ग पिछडिएको वर्गहरुको सशक्तिकरण गर्दै लगिने पालिकाको योजना रहेको उनले बताए । युवा इलम र महिला उद्यमशिलता कार्यक्रमबाट पालिकाका उत्पादनशील उमेरका युवा तथा पछाडि परेका वर्ग समुदायलाई रोजगार बनाउने गरी काम गरिरहेको यादवको दावी रहेको छ । सीप सिकेकालाई रोजगार वा स्वरोजगार बनाउन समेत पालिकाले काम गरेको उनले बताए । “आर्थिक हैसियत विनाको चेतनाले महिला वा पछाडि परेको वर्ग सशक्त बन्दैन, त्यसैले आत्भमनिर्भरताबाट सशक्त बनाउने अभियान चलाएका छौं ।” यादवले भने, “ महिला, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई व्यवसायिक सिप प्रदान गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरु गाउँपालिकाले सञ्चालन गरेको छ ।”

गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले पछाडि परेका वा पारिएका वर्ग, समुदाय र क्षेत्रका जनताको विकासका लागि कार्यक्रमहरुलाई कार्यान्वयन गरी समानुपातिक विकास गर्ने लक्ष्यसहित गाउँपालिका अगाडी बढेको बताइन । उनले विकासलाई सामाजिक समावेशीकरण गरिदै लगिने बताइन् ।

महिला, बालबालिका, दलित, आदिवासी जनजाति, उत्पीडित, विपन्न वर्ग, अपांग तथा पिछडिएका क्षेत्रका जनताको समानुपातिक सहभागितातर्फ गाउँपालिकाले यस अघि पनि कार्य गरिरहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने लक्ष्य रहेको उनको भनाइ थियो ।

युएस एड, स्वास्थ्यको लागि सक्षम प्रणाली, फेयर मेड र ईन्द्रेणीको सहकार्य एवं ओमसतिया गाउँपालिकाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बराल मगर, २ का वडाअध्यक्ष शितल जिटी, ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी, ४ का वडा अध्यक्ष अखिलेश्वर कुमार पाण्डे, ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीको सञ्चालन तथा सरस्वती गौतमको सहजीकरणमा सम्पन्न भएको थियो ।