
बिहिवार , आश्विन २७, २०७९
भैरहवा, २७ असोज ।
विश्व दृष्टि दिवस–२०२२ को अवसर पारेर भैरहवामा कविता प्रतियोगिता सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, रुपन्देही लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण–अम्बिका शाह आँखा अस्पताल भैरहवाको आयोजनामा ‘आँखालाई माया गरौं ’ विषयक प्रतियोगिता भएको हो ।
संस्थानमा अध्ययनरत पीसीएल–अफथालमिक साइन्स र ब्याचलर इन ओप्टोमेट्री एण्ड भिजन साइन्सका विद्यार्थीहरुबीच भएको अस्पतालको सभाहलमा बिहीबार प्रतियोगिता भएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताए ।
२१ जना विद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा प्रतिभा पन्थी प्रथम, करुणा देवकोटा द्वितीय, मोहन पाण्डे तृतीय, पुनम कलवार र अस्मित खड्का सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई रु. ५ हजार १ सय, द्वितीयलाई रु. ३ हजार १ सय, तृतीयलाई रु. २ हजार १ सय र सान्त्वना हुनेलाई रु. १ हजार १ सयसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको अस्पतालका वरिष्ठ नेत्र अधिकृत तथा कार्यक्रम संयोजक संजीव अधिकारीले बताए । त्यस्तै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा साहित्यकार विजय गोविन्द श्रेष्ठ, भैरहवा बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीनारायण भट्टराई र श्री रण– अम्बिका शाह आँखा अस्पतालको बाह्य कार्यक्रम निर्देशक प्रा.डा. कबिन्द्र बज्राचार्य निर्णायकको भूमिकामा रहेका थिए ।
कार्यक्रममा साहित्यकार राम बहादुर श्रेष्ठ, अनमोल शर्मा, लक्ष्मी प्रसाद अधिकारी, सिर्जना खनाल लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गजलकार प्राज्ञ बुद रानाले आँखालाई माया गर्नुपर्ने बताए । उनले भने, ‘मैले मृत्युपश्चात आँखा दान गर्ने घोषणा गरिसकेको छु । ’अस्वस्थ प्रतिष्पर्धाले समस्या उत्पन्न गर्ने उनको भनाइ थियो ।
श्री रण–अम्बिका शाह आँखा अस्पताल भैरहवाका चिफ मेडिकल डाइरेक्टर प्रा.डा. ज्ञानेन्द्र लामिछानेले समयमै उपचार गरे आँखा रोग शतप्रतिशत निको हुने बताए ।
अस्पताल विकास समितिका अध्यक्ष तथा नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य सागर प्रताप राणाको स्वागत तथा नेत्र ज्योति संघका सचिव एवं विश्व दृष्टि दिवस उपसमितिका संयोजक गणेश बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रभातफेरी
विश्व दृष्टि दिवसको अवसर पारेर नेपाल नेत्र ज्योति संघ, रुपन्देही लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण–अम्बिका शाह आँखा अस्पताल भैरहवाको आयोजनामा बिहीबार बिहान प्रभातफेरी निकालिएको छ । अस्पताल प्रांगणबाट सुरु भएको प्रभातफेरी देवकोटा चोक, आवारोड, प्रहरी टोल, हाटबजार हुँदै पुनः अस्पतालमा पुगेर समापन भएको सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij