बिहिवार , आश्विन २७, २०७९
लन्डन, २७ असाेज ।
नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट) अब बेलायतस्थित नेपाली पसलहरुमा पाइने भएको छ। बीबीसी मास्टर शेफका उपविजेता शेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएका नेपालको क्वाँटी, मुस्ताङको दाल, आलु बोडी तामा, चनाको दाल र मासको दाल जस्ता तयारी खानेकुरा यसै सातादेखि बेलायतस्थित अधिकांश नेपाली पसल तथा केही भारतीय पसलमा पनि उपलब्ध हुने नेपाल फुड्सले जनाएको छ।
सोमबार ब्रिटिस संसद, हाउस अफ लर्ड्स मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेफ सन्तोष शाहले नेपाली खानालाई विश्वभरि चिनाउने अभियानकै रूपमा आफूले नेपाली स्वादका रेसिपी तयार गरेको बताए। उनले तयारी चाउचाउ पकाए जस्तै यी खाने कुरा तातो पानीमा डुबाएर सुपको रुपमा, रोटी वा भातसँग पनि खान सकिने बताए। झोल मोमोका लागि मसला र चट्नी बनाउनेतर्फ आफूहरूले काम गरिरहेको उनकाे भनाइ छ ।
नेपाल फुड्स कम्पनीका ब्रान्ड निर्देशक विकास नेपालले सुरुमा बेलायत निवासी नेपाली समुदायसम्म आफ्ना उत्पादन पुर्याउने र पछि भारतीय समुदाय हुँदै युरोप तथा अमेरिकालगायत विश्वभरि नेपाली तयारी खानेकुरा पुर्याउने आफ्नो योजना रहेको बताए । उनले एउटा ब्रिटिस च्यारिटी, फेज वर्ल्डवाइडसँग सहकार्य गरी नेपाल फुड फाउन्डेसन दर्ता गरिएको र हरेक प्याकेट बिक्रीको केही अंश उक्त फाउन्डेसनमार्फत नेपालमा किसान समुदाय र तिनका बालबालिकालाई शिक्षा, प्राथमिक स्वास्थ्य सेवा तथा रोजगारीका अवसर दिलाउन उपलब्ध गराइने जनाए।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली खाना, संस्कृति र व्यापार प्रवर्द्धन गर्ने यो उद्यम सराहनीय भएको बताए। ‘नेपाल र बेलायतको व्यापार सीमित छ र हामी त्यो अरु बढोस् भन्ने चाहन्छौं,’ आचार्यले भने। उनले यी उत्पादनलाई बेलायत मात्रै हैन संसारभरि पुर्याउन शुभकामना पनि दिए। नेपालका किसानहरूलाई लक्षित गरी नयाँ फाउन्डेसन सुरु गरेकोमा उनले खुसी व्यक्त गरे । न्युज कारखाना
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij