सोमवार , आश्विन १७, २०७९
बुटवल, १७ असोज ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्याङ्गजाको प्रसिद्ध आलमदेवी शक्तिपीठको दर्शन गरेका छन् । प्रमुखमा निर्वाचित भएपछि पहिलोपटक जन्मस्थल स्याङ्गजाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ स्थित कोटाकोट पुगेका पाण्डेय महाअष्टमीको अवसरमा आलमदेवी मन्दिर दर्शनको लागि पुगेका हुन् ।
शक्तिपीठमा पुगेर उनले सबैलाई दशैंको शुभकामना दिँदै बुटवललाई देशकै सबल आर्थिक केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । आलमदेवी शक्ति पीठको दर्शनका क्रममा पनि आफूले त्यही कामना गरेको उनले बताउँदै सबैको सद्भाव, सहकार्य र बुटवलबासीको प्रेरणाबाट बुटवल देशकै सवल आर्थिक केन्द्र बन्ने बताए ।
यस्तै प्रमुख पाण्डेयले आलमदेवी क्षेत्रको विकासमा चासो व्यक्त गरेका छन् । आलमदेवी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उनले बताए । आलमदेवी मन्दिर विकास समितिका पदाधिकारीहरुसँग कुराकानी गदैै उनले रानीमहल, आलमदेवी, बडहरकुन शिला, सेतिवेणी शिलालाई जोडर धार्मिक पर्यटकीय पथ मार्ग निमाण गर्न सके यस क्षेत्रको विकास हुने बताए । आलमदेवी मन्दिरमा बडादशैको महाअष्टमी र चैतेदशैका दिन विशेष पुजाअर्चना हुँदै आएको छ । शाहबंश राजाहरुको कुल मन्दिर रहेको आलमदेवी शक्ति पीठको ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij