बुधवार , आश्विन १२, २०७९
भैरहवा, १२ असोज ।
गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनसँगै लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबार (भोलि) देखि सञ्चालनमा आउने भएका छन् । पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारीसाधन तीन वर्षदेखि थन्किरहेका बेला गृहमन्त्री खाँणले विश्व पर्यटन दिवसको अवसरमा मंगलबार भैरहवामा आयोजित कार्यक्रममा अविलम्ब सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिएका थिए ।
निर्देशन लगत्तै बुधवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघ–संस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँचवटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्रीको पहलमा पाँचवटा बसहरु विभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । ती बसमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुसँग शुल्क नलिने र अन्य आवश्यक सहयोग र समन्वय पर्यटन तथा उद्योगी व्यवसायीहरुसँग पनि गरिनेछ । थन्किएका बसहरु निःशुुल्क रुपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुुग्ने विश्वास लिइएको उनले बताए ।
तत्काललाई बेलहिया, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन हुने लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले जानकारी दिए । कोषले सबै विद्युतीय बस तथा भ्यानहरु यही असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा पनि ल्याउने भएको छ ।
मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैंको उपलक्ष्यमा ५ दिन चार्जिंङ स्टेशन र गाडिहरुको मेशिनरी परीक्षण स्वरुप अफिसियल यान्त्रिक परिक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए । १२ करोडका ५ बस र १४ भ्यान (ट्याक्सी) एडिबीले ३ वर्ष अघि दिएको थियो । अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन् । गाडी चार्ज गर्न लुम्बिनीमै दुुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेशन बनाइए पनि बस सञ्चालन नहुँदा अनुदानकै १४ करोडमा निर्माण गरिएको उक्त प्लान्टबाट ५४ लाख मूल्यको विद्युत समेत खेर गइरहेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडिबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानमा बस र भ्यान उपलब्ध गराएको थियो । विश्व सम्पदास्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न पनि विद्युतीय गाडी अनुदान दिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij