आइतवार , आश्विन ९, २०७९
बुटवल, ९ असोज ।
रुपन्देहीको बुटवल उप–महानगरपालिका –११ देविनगरस्थित श्री नवदुर्गा मन्दिर समितिको आयोजनामा हुन लागेको श्रीमद् देवी भागवत महापुरण महायज्ञको तयारी पूरा भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पस अगाडि मन्दिर परिसरमा ९ दिनसम्म सञ्चालन हुने उक्त महापुरणको तयारी पूरा भएको समितिले जनाएको छ । महापुरण तथा कथा प्रवचनको सन्दर्भमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्जुन कुंवरले तयारी पुरा भएको र सोमबार घटस्थापनादेखि महापुरण यज्ञ सुरु हुने जानकारी दिए ।
वि.सं. २०२२ सालमा यस क्षेत्रका धार्मिक व्यक्तिहरुको पहलमा तिलोत्तमा गंगा किनारमा निर्मित उक्त मन्दिर २०७३ मा जिर्णोद्वार गरी हरेक वर्ष दुर्गा पुजन गरिँदै आएको छ । २०३८ सालको बाढीले समेत यस मन्दिरले चर्चेको भूभाग कटान गर्न नसकेको कारण यस क्षेत्रमा देवीको शक्ति रहेको विश्वास गरी यस क्षेत्रको नाम देविनगर रहन गएको स्थानीय बताउँछन् । मन्दिरको ऐतिहासिक तथा पौराणिक महत्वलाई उजागर गर्न महायज्ञ गर्न लागिएको अध्यक्ष कुंवरले बताए । श्रृङ्गेश्वरधामका गुरु त्रिकालदर्शी युवा ज्योतिषविद आचार्य दुर्गप्रसाद भट्टराई (उपाध्याय)को मुखारविन्दबाट संगितमय कथाबाचन हुने समितिका सचिव रविलाल पोख्रेलले जनाए ।
महायज्ञका संयोजक तथा समितिका सल्लाहकार यज्ञश्वर मरासिनीले १० गते विहान बाजागाजा र भजनकृतनको साथमा भव्य कलश यात्रा घटस्थापना, व्यास पुजन तथा पाठपारायण शुभारम्भ हुने जानकारी दिए । उनका अनुसार असोज १६ गते बाजागाजासहित फुलपाती भित्र्याउने, १९ गते दुर्गा विसर्जन तथा टिकाप्रसाद ग्रहण र असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन सरायनाच र फुलपाती बिसर्जन गरिनेछ ।
त्यसबाहेक दैनिक धार्मिक कार्यक्रम संगितमय कथा वाचन कार्यक्रम रहनेछ । समितिका वरिष्ठ उपाध्यक्ष कुलबहादुर केसीले नवदुर्गा मन्दिरको प्रचारप्रसारमा पत्रकार र मिडियाले महत्वको साथ लिएको बताउँदै धन्यवाद दिए । कोषाध्यक्ष तथा आर्थिक संयोजक राधा पौडेलले मन्दिरको नियमित कर्मको लागि आर्थिक अवस्था कमजोर रहेको र भक्तजनहरुको सहयोगबाट मन्दिर सञ्चालन गरिएको बताइन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, समितिका सदस्य तथा मिडिया संयोजक रुद्रहरि कुंवरले धार्मिक कार्यक्रम मार्फत सबैलाई सत्मार्गमा लैजान टेवा पुग्ने र मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वको अझै उजागर हुने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij