२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

‘सिद्धार्थनगर सहकारी संस्थाहरुको सुद्ढीकरण र आर्थिक सुशासन कायम गराउन प्रतिवद्ध छ’

आइतवार , आश्विन ९, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ९ असोज । 
    सिद्धार्थनगर नगरपालिका सहकारी शाखाका प्रमुख कमलकान्त खनालले सहकारीप्रति सदस्यहरुको बुझाइमा रहेको भिन्नता सहकारीमा देखिएको मुख्य समस्या रहेको बताएका छन् । अभिरुची बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभामा बोल्दै प्रमुख अतिथि समेत रहेका खनालले सहकारी प्रणाली सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागी गरिने सहकार्य भएता पनि यसको आर्थिक पक्षलाई मात्र केन्द्रमा राखी सहकारीलाई बैकसँग तुलना गर्न खोज्दा सहकारीले आफ्नो मौलिकता गुमाएको बताए । 

    ‘नचिनेको संस्थामा आबद्ध हुने, संस्था र सञ्चालकबारे जानकारी नराख्ने र बढी ब्याजको लोभमा बजार प्रतिनिधिको भरमा पैसा जम्मा गर्ने प्रवृत्ति भएका व्यक्तिहरु बढी जोखिममा रहेको छ, ’उनले भने । सिद्धार्थनगर नगरपालिका संस्थाहरुको सुद्ढीकरण र आर्थिक सुशासन कायम गराउन प्रतिवद्ध रहेको र चालू आर्थिक वर्षमा समेत सहकारी लक्षित कार्यक्रमहरु सञ्चालन गर्न लागिएको सहकारी शाखाका प्रमुख खनालले बताए ।

    कार्यक्रममा बोल्दै वक्ताहरुले सहकारीमा मर्जको अवधारणा अंगिकार गर्दै धेरै भन्दा धेरै सदस्यलाई समेट्नुपर्ने जरुरी रहेको बताए । बचत तथा ऋण लगानीमा केन्द्रित नभइ सहकारीले उत्पादनशील क्षेत्रमा दीर्घकालिन योजना बनाएर जानुपर्ने, सहकारीलाई उत्पादन पुँजीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने भएकोले बहुवर्षिय कार्ययोजना बनाएर लगानी गर्न आग्रह गरे । 

    सहकारीले सदस्यहरुको क्षमतावृद्धि, जीवनयापनमा सहजता, आयआर्जन बढाउन र नेतृत्व विकास वृद्धि गर्दै गुणस्तरमा पनि सहयोग पुर्याउँदै आएको संस्थाका अध्यक्ष जीवन प्रकाश पाण्डेले बताए । अहिले वित्तीय क्षेत्र संकटमा रहे पनि यस सहकारीमा तरतला व्यवस्थापन गर्न चुनौतीको रुपमा रहेको छ । संस्थाले उत्पादनशील, रोजगारी र व्यवसाय क्षेत्रमा लगानी गरेर देशको आर्थिक संकटमा सहयोग पुर्याउन सकिने बताउँदै अध्यक्ष पाण्डेले सहकारीको कारोबार व्यवस्थित गर्दै लगिरहेकोले सम्पूर्ण शेयर सदस्य सक्रिय भएर लाग्न आग्रह गरे । साधारणसभाले विभिन्न ९ वटा प्रस्तावहरु पारित गरेको छ । 

    सहकारीमा संख्यात्मक रुपमा केही सदस्य भए पनि सुचकको आधारमा संस्था बलियो छ । १२ वर्ष अधि स्थापित संस्थाले सहकारीले मासिक बचत, बाल बचत, चाडपर्व बचत, साधरण बचत, आल्पकालिन कर्जा, साधारण कर्जा, सदस्यको स्वास्थ्य तथा दुर्घटना बीमा तथा सम्मान लगायतका कार्यक्रम गर्दै आएको छ । 

    संस्थाका अध्यक्ष जीवनप्रकाश पाण्डेले संस्थाको वर्ष भरिको गतिविधि, बजेट तथा कार्ययोजना, लेखा तथा सुपरिवेक्षण समिति संयोजक मोहम्मद सलिमले आ.व.को लेखा परीक्षण प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    २०६७ सालमा ४४ जनाबाट स्थापना भएको संस्थामा हाल ११० जना महिलासहित २ सय ५८ सदस्य रहेका छन् । संस्थाको कुल शेयर पूँजी २ करोड ४६ लाख रहेको छ । संस्थाले यस वर्ष मात्रै ५ करोड ११ लाख बढी ऋण लगानी गरेको छ । संस्थाको सचिव उमेश भट्टराईको सञ्चालन, उपाध्यक्ष टिकाराम भट्टराईको स्वागत तथा अध्यक्ष पाण्डेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।