२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कुनै पनि द्वन्द्वले मुलुकको हित गर्न सक्दैन : गृहमन्त्री खाँण

आइतवार , आश्विन ९, २०७९

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, ९ असोज ।
    गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि द्वन्द्वले मुलुक र जनताको हित गर्न नसक्ने बताएका छन् । उनले नेपालले बेलाबेलामा ठूलो द्वन्द्व व्यहोर्नुपरेको बताए ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित श्री शिव मन्दिर धर्मशालाको आइतबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय मुलुक भएकाले ठूलो संख्यामा रहेका हिन्दूले अन्य सम्प्रदायलाई पनि सम्मान गर्नुपर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले भने, ‘रुपन्देहीको विकासले रुपन्देहीको नागरिक तथा उद्योगी व्यवसायीलाई मात्र होइन, समग्र नेपालीलाई प्रतिफल दिन्छ, त्यसैले रुपन्देहीको विकासका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।’

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र अन्य एयरलायन्सलाई यहाँ ल्याउनका लागि प्रयत्न गरिरहेको उनले बताए । उद्योगी व्यवसायीको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले देशभरीका उद्योगी व्यवसायीको सुरक्षामा गम्भिरताका साथ लाग्न उनले सुरक्षा निकायलाई निर्देशन दिए ।

    त्यस्तै लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खानले मठ, मन्दिर, शिक्षा क्षेत्रमा विकासमा बालकृष्ण खाँणले महत्वपूर्ण कार्य गर्नुभएको बताए ।

    लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले धर्म संस्कृतिको संरक्षण आवश्यक रहेको बताए ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–१० का पूर्व वडाअध्यक्ष विजयनाथ धवल, नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्का, मारवाडी सेवा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार नन्दलाल गोयनका लगायतले बोल्दै यस क्षेत्रका विकासमा बालकृष्ण खाँणको महत्वपूर्ण योगदान रहेको बताए ।

    IMG_2271.JPG

    श्री शिव मन्दिर धर्मशाला निर्माण समितिका अध्यक्ष अजय सोनी र भगवानदास गुप्ताको अध्यक्षता, युवा समाजसेवी बैजनाथ गुप्ता (बी.एन.) गुप्ताको स्वागत, सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको धन्यवाद ज्ञापन तथा विशाल श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

    IMG_2303.JPG

    पर्यटन डिभिजन कार्यालय रुपन्देहीको १० लाख र स्थानीयबासीको ५ लाख गरी १५ लाखको लगानीमा धर्मशाला निर्माण गरिएको सिद्धार्थनगर–६ का वडाअध्यक्ष, श्री शिव मन्दिर धर्मशाला निर्माण समितिका संरक्षक तथा प्रमुख सल्लाहकार विरेन्द्रनाथ श्रीवास्तवले बताए ।