शुक्रवार , आश्विन ७, २०७९
भैरहवा, ७ असोज ।
रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार अपांगता परिचयपत्र वितरणसम्बन्धी जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
ओमसतिया गाउँपालिकामा रहेको विभिन्न अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र प्राप्त गर्न सहज पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । अपांगता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरुमा नेपालले पनि हस्ताक्षर गरेको हुँदा यसको पूर्ण परिपालनमा गम्भिर हुनुपर्ने कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।
कतिपय अवस्थामा अपांगको नाममा गैर अपांग अथवा अपांगताको गम्भिर श्रेणीमा नपर्नेहरु पनि प्रभावमा पारी परिचयपत्र बनाइ दुरुपयोग गरेको हुँदा यस्ता गतिविधिबाट जोगिनुपर्ने उनिहरुको धारणा रहेको थियो । स्थानीय तहको दोस्रो निर्वाचनपछि पालिकामा नयाँ वडाअध्यक्षहरुलाई अपांगता परिचयपत्र वितरणमा विशेष ख्याल गर्न सहजकर्ता सावित्रा घिमिरेले आग्रह गरिन् । उनले सरकारले अपांगताको परिभाषा र वर्गिकरणलाई फराकिलो बनाउँदै १० प्रकारको अपांगताको व्यवस्था गरिएको जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले नयाँ जनप्रतिनिधि आएपछि अपांगता भएका व्यक्तिहरुको हितमा काम गरेको बताए । उनले सम्बन्धित वडा वा गाउँपालिकामा आउन नसक्ने अपांगता भएका व्यक्तिहरुलाई घरघरमै पुगेर सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए । अन्य व्यक्तिहरु सरह अपांगता भएका व्यक्तिहरुको पनि हकअधिकार भएको र उनीहरुको हकअधिकारप्रति गाउँपालिका सजग रहेको उनले जनाए ।
ओमसतिया गाउँपालिकाको उपाध्यक्ष तथा अपांगता परिचयपत्र वितरण समन्वय समितिका संयोजक सुनिता चौधरीका अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यतामाम सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश सिंह चौधरी, ४ का अखिलेश्वर पाण्डे, ५ का मदन प्रसाद पोखरेल, अपांगता समन्वय सिफारिस समितिका सदस्यहरु गंगा थापा, डा. परिवेश ज्ञवाली, रमादेवी अर्याल, अपांगता भएका व्यक्तिहरुको प्रतिनिधि सुनिल कुर्मी, साह आलम पठान, प्रशासन शाखा प्रमुख रुपा थापा, कृषि शाखा प्रमुख केशव प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मला पाण्डेले गरेकी थिइन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij