
शुक्रवार , आश्विन ७, २०७९
भैरहवा, ७ असोज ।
लुम्बिनी प्रदेश सरकारका शिक्षा, युवा, विज्ञान तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले शैक्षिक असमानताका कारण रुपन्देहीको मर्चवार क्षेत्र बिकासमा पछाडि परेको बताएका छन् । बहुप्राविधिक विद्यालय स्थापनाका लागि जग्गा अनुगमन गर्न रुपन्देहीको मर्चवार क्षेत्र पुगेका मन्त्री खाँले समृद्धिका लागि शिक्षा अत्यावश्यक रहेको बताएका हुन् ।
मर्चवारको आर्थिक, सामाजिक र शैक्षिक अवस्था असमान रहेको बताउदै उनले भने, ‘मर्चवारबासीलाइ जबसम्म क्षेत्र शैक्षिक समानुभूति हुँदैन तबसम्म उभो लाग्दैन ।’ शिक्षा मन्त्री खाँले बहुप्राविधिक बिद्यालय स्थापनाका लागि गहन छलफल पछि मात्र सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने रुपन्देहीको मर्चवारलाइ रोजिएको बताए ।
सो अवसरमा बोल्दै सम्मरीमाइ गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले मन्त्री खाँले आफ्नो चुनावी वाचा पूरा गर्दै शैक्षिक विकासमा ठूलो टेवा पुर्याएको बताए । यस आर्थिक वर्षमा मर्चवारको समग्र विकासका लागि प्रदेश सरकारबाट करिब ३ अर्ब रुपैयाँ बिनियोजित भएको भन्दै मन्त्री खाँलाई गाउँपालिका अध्यक्ष श्रीवास्तवले धन्यवाद समेत दिए ।
सो अवसरमा लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद मन्त्रालयका योजना शाखा प्रमुख थानेश्वर ज्ञवाली र सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख दिवाकर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij