२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

भैरहवामा पाँचदिने गुणस्तर सुधार तालिम कार्यक्रम

शुक्रवार , आश्विन ७, २०७९

भैरहवा, ७ असोज ।
प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवा, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित पाँचदिने गुणस्तर सुधार तालिम कार्यक्रम बिहीबार समापन भएको हो । स्वीजरल्याण्डस्थित एजुकेटर्स विथआउट बोर्डर्स इन्टरनेशनलको सहकार्यमा असोज २ गतेदेखि सञ्चालित तालिम बिहीबार समापन भएको हो ।

तालिममा सिद्धार्थनगर, देवदह, तिलोत्तमा नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकाका शिक्षक, युवा, सामाजिक कार्यकर्ता लगायत गरी ४५ जनाको सहभागिता रहेको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । तालिममा इण्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्ट काशीपुर, भारत अध्यक्ष तथा लण्डन अफ स्कूल अफ इकोनोमिक्सका भिजिटिङ प्रोफेसर प्रा.डा. बहरुल इस्लाम र अलिगार मुस्लिम युनिभर्सिटी भारतका प्रा.डा. रसिद निहालले प्रशिक्षण दिएका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिकाई कहिल्यै पूरा नहुने बताइन् । उनले समाज परिवर्तनको लागि सोच बोक्ने व्यक्ति नै युवा भएको बताइन् । उनले भनिन्, ‘प्रतिमान नीमा स्मृति प्रतिष्ठान एकदमै सक्रिय संस्था हो, यो संस्थाले कोरोनाकालमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ । ’

प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले संस्थालाई विश्वास गर्ने एजुकेटर्स विथआउट बोर्डर्स इन्टरनेशनललाई धन्यवाद व्यक्ति गरिन् । उनले आगामी दिनमा मर्चवार, लुम्बिनी क्षेत्रमा पनि यस्ता तालिम कार्यक्रम सञ्चालन गर्न सकिने बताइन् । उनले भनिन्, ‘स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । ’कार्यकारी निर्देशक थापाले २००३ मा स्थापना भएको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले अनुसन्धानका विभिन्न काम गरेको बताइन् । उनले एजुकेटर्स विथआउट बोर्डर्स इन्टरनेशनलको सहकार्यले आगामी दिनमा शिक्षक, युवा तथा सामाजिक कार्यकर्ताहरुलाई तालिमको अवसर प्रदान हुने बताइन् । भोलिको दिनमा तालिम प्राप्त भएका सहभागीहरु अन्तर्राष्ट्रियस्तरमा स्वयंसेवकको रुपमा भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो । उनले भनिन्, ‘पिछडिएको क्षेत्रमा कतिपय विद्यार्थीहरुले विभिन्न कारणले पढ्न पाएका छैनन्, त्यस क्षेत्रमा गुणस्तरीय शिक्षामा जोड दिन्छौं । ’

सामाजिक डिभिजन विकास कार्यालय रुपन्देहीका प्रमुख दिवाकर भण्डारीले कार्यालयबाट संस्थालाई सक्दो सहयोग गर्ने बताए । उनले प्रशिक्षण लिएका सहभागीहरुले थप कार्यक्रम ग्रामीण क्षेत्रमा सञ्चालन हुँदा प्रशिक्षकको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. विष्णु मरासिनीले शिक्षाको महत्वपूर्ण पाटो सिकाइ भएको बताए । उनले सैद्दान्तिकसँगै प्रयोगात्मक शिक्षा आवश्यक रहेको बताए ।

श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयका शिक्षक विरेन्द्र कुमार गौडले पाँचदिने तालिम निकै उपलब्धीमूलक भएको बताए ।

इण्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्ट काशीपुर, भारत अध्यक्ष तथा लण्डन अफ स्कूल अफ इकोनोमिक्सका भिजिटिङ प्रोफेसर प्रा.डा. बहरुल इस्लाम र अलिगार मुस्लिम युनिभर्सिटी भारतका प्रा.डा. रसिद निहालले तालिमको सहजीकरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए ।

प्रतिमान नीमा कलेजका लेखा शाखा प्रमुख ऋषिराम पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतिमान नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी., प्रशिक्षक, प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो ।