बिहिवार , आश्विन ६, २०७९
सर्लाही, ६ असोज । सर्लाहीमा दुई पत्रकारमाथि निर्घात कुटपिट भएको छ ।
बागमती नगरपालिकामा भएका गतिविधिबारे समाचार बनाएका अनलाइनपानाका दुई पत्रकारमाथि आक्रमण भएको हो । नगरपालिकाको गतिविधिबारे समाचार लेखेका पत्रकारद्वय नारायणप्रसाद अधिकारी र शालिक भट्टलाई नगरपालिकामा बोलाएर मेयर भरतकुमार थापाका सहोदर भाइ रामकुमार थापासहितको टिमले निर्घात रुपमा कुटपिट गरेका हुन् । मेयरका भाइ थापासहितले पत्रकारद्वय अधिकारी र भट्टमाथि हेलमेटले आक्रमणसमेत गरेका थिए ।
यसअघि अनलाइनपानाले नगरपालिकाले कानुनविपरित बनाएको भरत तालका कारण त्यहाँका नागरिक सुकुम्बासी बनेका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो । मेयरले अन्तर्वार्तामार्फत थप कुरा प्रष्ट पार्ने भनेर मेयर थापाकै भाइ रामकुमार थापाले बोलाएपछि आफूहरू नगरपालिकामा पुगेका बेला आक्रमण भएको पीडित पत्रकार अधिकारीले बताए। तर, मेयर थापाकै संलग्नतामा आफूहरूमाथि आक्रमण भएको पीडित पत्रकारको आशंका छ ।
अनलाइनपानाले यसअघि भरत तालका कारण सुकुम्वासीको घरमा बाढी, सर्लाहीको बागमतीमा बनेको भरतताल कानुनविपरीत, बागमतीका मेयर थापासहित १५ जनाविरुद्ध हत्या आरोप, कहाँ पुग्यो अनुसन्धान ? र बागमती नगरको अवैध धन्दा सागरनाथ वनको जग्गामा मेयरको रजाइँ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।यसअघि पनि मेयर थापाका भाइ रामकुमारले पत्रकारद्वयलाई पटक–पटक ज्यानमा मार्ने धम्की दिएका थिए। यसै विषयको समाचार लेखेको हिमाल पोस्टका सम्पादक मोती खानाललाईसमेत ज्यान मार्ने धम्की दिएका थिए ।मेयर थापामाथि विप्लव नेकपाका कुमार पौडेल हत्यामा सुराकी गरेको आरोप लागेको छ ।न्युज कारखाना
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij