भैरहवा, ६ असोज ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाका क्षेत्रीय अध्यक्ष ब्रह्माकुमारी शान्ति सुवेदीले अध्यात्म क्षेत्र ओझेलमा परेको गुनासो गरेकी छन् । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयको भैरहवा शाखामा बुधबार आयोजित पत्रकार स्नेह मिलन कार्यक्रममा बोल्दै उनले हामी सबैले खानपान, रहनसहन र बानी ब्यहोरा सुधार्न तथा सत्गुणी बन्न आग्रह गरेकी छन् ।
ब्रह्माकुमारी शान्तिले यही धर्तीलाई हामी सबै मिलेर बैकुण्ठ बनाउन सकिने भए पनि मानवीय क्रियाकलापले नर्क बनिरहेको बताइन् । उनले भनिन्, ‘हाम्रा बोली, वचन, व्यवहार र बानीलाई बदलौं, बैकुण्ठ यही धर्तीमै छ, बनाउन सकिन्छ । ’ उनले अन्य धार्मिक संघ–संस्थाको तुलनामा ईश्वरीय विश्वविद्यालयले सबैलाई समेटेको पनि जानकारी दिइन् ।
कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाका सचिव तथा केन्द्रीय उपाध्यक्ष भूपेन्द्र अधिकारीले २०३४ सालमा भैरहवामा स्थापना भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १५० शाखा, उपशाखामार्फत आध्यात्मिक जागरण फैलाइरहेको जानकारी दिए । उनले ब्रह्माकुमारीले हाल विद्यार्थीहरुसँग गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रमले नैतिक र आध्यात्मिक शिक्षाको आवश्यकता महसुस भएको उल्लेख गरे । अधिकारीले कोभिड महामारीपछि आम मानिसमा निराशापन बढिरहेकाले आध्यात्मिक कार्यक्रमबाट निराशालाई आशामा परिणत गर्न सबैको सहयोगको खाँचो औल्याए ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजस्थान माउण्ट आबुका गड्लीउड स्टुडियो नेपाली तथा बंगाली भाषा प्रमुख चित्तारन्जनले १५० भन्दा बढी देशमा नेपाली, बंगाली लगायतका भाषामा आध्यात्मिक कार्यक्रममार्फत शान्ति र जागरण फैलाइरहेको जानकारी दिए । उनले नेपालका शिव मन्दिर र बालबालिकासँग सम्बन्धित कार्यक्रम निर्माण गरी समाजलाई सकारात्मक सन्देश जाने गरी प्रसारण गरिरहेको बताए ।