२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

भोलिदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

बुधवार , आश्विन ५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ५ असोज ।

    निर्वाचन आयोगले भोलिदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने चुनावका लागिमात्र नामावली संकलन हुने निर्वाचन आयोगले जनाएको छ । 

    अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ । यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।

    निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, थुनुवा÷कैदी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको बृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।

    अस्थायी मतदाताको विवरण रुजु गरी कात्तिक १ गते सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

    यस्तै कात्तिक ४ गते प्राप्त निवेदन उपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेश गर्ने, दाबी विरोधको निवेदन उपर कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।