
मंगलवार , आश्विन ४, २०७९
भैरहवा, ४ असोज ।
काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२, रुपन्देहीले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा २०७९ मा सिद्धार्थनगर प्रथम र द्वितीयसहित उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले मंगलबार एक कार्यक्रमकाबीच छात्रतर्फ ३.६५ जीपीए ल्याउने शिवम कुमार मिश्रा र छात्रातर्फ ३.६४ जीपीए ल्याउने सिया लिम्बु र कुसुम शर्मालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरेको हो । तीनैजना विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको विद्यालयका सह–प्राचार्य श्री रायमाझीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले सीप आवश्यक रहेको बताए । उनले भने, ‘शिक्षाका विभिन्न पाटासँगै सीप आवश्यक छ । ’ उनले पढाइमा ध्यान दिन आग्रह गर्दै विद्यार्थीहरुले समय खेर फाल्न नहुने बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले यस क्षेत्रको शैक्षिक विकासका लागि विद्यार्थीहरु यहाँ रहेका विद्यालयमा पढ्नुपर्ने बताए । उनले भने, ‘शैक्षिक क्षेत्रको विकासका लागि विद्यार्थीहरुको साथ र सहयोग चाहिन्छ ।’
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले काशी नोबल एकेडेमीका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले भैरहवामै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरा उत्कृष्ट नतिजाले प्रमाणित गरेको दावी गरे ।
रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले काशी नोबल एकेडेमीले राम्रो नतिजा ल्याउने विद्यार्थी उत्पादन गर्न सफल भएको भन्दै विद्यालयको प्रशंसा गरे । उनले भैरहवाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका ब्याचलर अफ ट्राभल एण्ड टुरिजम (बीटीटीएम)की कोर्डिनेटर अन्जु खनालले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरिन् ।
विद्यार्थी शिवम कुमार मिश्राले काशी नोबल एकेडेमीले पढाईसँगै विद्यार्थीहरुको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
काशी नोबल एकेडेमी सञ्चालक समितिका अध्यक्ष ओम जैसीको अध्यक्षता, विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत तथा सह–प्राचार्य श्री रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij