२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

रोटरी बुटवलद्वारा मृगौला बिरामीलाई खाद्यान्न सहयोग

सोमवार , आश्विन ३, २०७९

बुटवल, ३ असोज ।
रोटरी क्लब अफ बुटवलले मृगौला बिरामीका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ । मृगौला तथा मुटुपीडित सरोकार समाज नेपालमार्फत क्लबले सोमबार ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरेको हो । यसका लागि हाल अमेरिकामा रहेका बाल मुटुरोग विशेषज्ञ डा. अमिर डंगोल र नर्स चिकित्सक सनिता पिया डंगोलले सहयोग गरेका थिए । त्यसै गरी पशुपति प्रिन्टिङ प्रेस चितवनका गोपाल गैरे तथा रोटरीयन माधवप्रसाद पौडेल, उमाशंकर मालपानीले पनि खाद्यान्न सामग्री वितरणमा सहयोग पुर्याएका थिए । विभिन्न जिल्लाबाट मृगौलापीडित बिरामीहरु हप्तामा तीनपटक डायलासिस गराउनका लागि बुटवल आउनुपर्ने र उनीहरु होटलमा बस्दा ठूलो खर्च बहन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै क्लबले राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरेको हो ।

मृगौलापीडित र त्यसमा पनि विपन्न परिवारलाई लक्षित गरी राहत स्वरुप खाद्यान्न वितरण गरिएको क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए । सामग्री हस्तान्तरण गर्दै उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा क्लबले स्वार्थ भन्दा माथि उठेर सेवा गर्दै आएको भन्दै मृगौला बिरामीको आर्थिक समस्यालाई मध्यनजर गर्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डायलासिस गराइरहेका बिरामीका लागि राहत सामग्री प्रदान गर्न पाउँदा गौरवको अनुभूति भएको बताए ।

क्लबका पूर्व अध्यक्ष कृष्णप्रसाद अर्यालले क्लब सधै मानवीय सेवामा समर्पित रहँदै आएको भन्दै उपचार गराइरहेका मृगौला बिरामीलाई गरिने सानो सहयोग उनीहरुका लागि निकै महत्वपूर्ण रहने बताए ।

मृगौला तथा मुटु पीडित सरोकार समाज नेपालका अध्यक्ष रमेश केसीले मृगौलाको समस्याका कारण आफूले परिवार गुमाएको स्मरण गर्दै मृगौला फेल हुँदाको पीडा आफूले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएकाले अरुको समस्यामा मलमपट्टी लगाउनका लागि आफूले समाज स्थापना गरेको बताए ।

यही समाजले साझा होटल सञ्चालनमा ल्याएको र मृगौला बिरामीका लागि सहुलियतमा खाजा र खानाको समेत व्यवस्थापन गर्दै आएको जानकारी दिंदै उनले हुने खानेहरुका लागि भन्दा पनि आर्थिक रुपले विपन्नहरुका लागि समाजले निरन्तर सहयोग गर्दै आएको बताए । उनले होटलबाट प्राप्त आम्दानी समेत मृगौला पीडितलाई सहयोग गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका प्रेसिडेन्ट इलेक्ट करुण खनाल, सचिव लालहरि पाण्डे लगायतले पनि मृगौला बिरामीका लागि समाजले पुर्याएको योगदान प्रशंसनीय रहेको बताएका थिए ।