२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

खरिद गरेको परिमाणमा इन्धन उपलब्ध गराउन निगमसँग व्यवसायीको माग 

सोमवार , आश्विन ३, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, ३ असोज । 
    नेपाल आयल निगम लुम्विनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा सरुवा भइ आएका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवलाई पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन, बुटवलले आइतबार स्वागत गरेको छ । एशोसिएसनले कार्यालयबाट सरुवा भइ जान लागेका प्रादेशिक प्रमुख नवविनोद पोखरेललाई बिदाई र यादवलाई स्वागत गरेको हो । 

    सो अवसरमा बोल्दै पेट्रोलियम व्यवसायीहरूले खरिद गरेको इन्धन नपुग्ने समस्या झेल्दै आएको बताउँदै यसको दीगो समाधान हुने गरी काम गर्न नयाँ कार्यालय प्रमुखलाई सुझाव दिए । डिपोबाट लोड भई ट्यांकर चालकले डिलर्ससम्म पुर्याउँदा खरिद गरेको भन्दा कम इन्धन पुग्ने समस्या देखिएको उनीहरुको गुनासो छ । 

    केन्द्रीय कार्यायलबाट सरुवा भइ भलवारी डिपोमा आएका प्रमुख यादवले इन्धनको घाटा रोक्न व्यवसायीहरु लाग्नुपर्ने बताए । उनले इन्धन ल्याएको ट्यांकरको रेकर्ड व्यवसायीहरुले राखेर कार्यालयमा सूचना गरेमा त्यस्ता ट्यांकरलाई छानबीन गरी कार्यालयले आवश्यक कारवाही अगाडि बढाउने बताए । ‘ट्याङकरको क्लििनिङ गर्न जरुरी छ, पम्पको नियमित चेकजाँचसँगै आगलागीको घटना न्यूनीकरणका लागि पनि व्यवसायीहरुले सेफ्टी अपनाउन आवश्यक छ’ यादवले भने । उनले व्यवसायीहरुसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताउंदै नियतवस व्यवसायीहरुलाई निराश बनाउने काम आफूबाट नहुने बताए ।

    कार्यक्रममा प्रादेशिक कार्यालयबाट केन्द्रीय कार्यालयमा सरुवा भएका प्रमुख नवविनोद पोख्रेलले व्यवसायीका समस्याप्रति आफू जहाँ भए पनि सहयोग गर्न तयार रहेको बताए । 

    एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले लकिङ प्रणाली प्रभावकारी नभएको भन्दै त्यसतर्फ डिपोको ध्यान जान आग्रह गरे । ‘लकिङ प्रणाली जहाँ पायो त्यही नखुल्ने बनाउनपर्ने देखियो । जसले गर्दा चुहावट रोकिएन चालकका कारण  खरिद गरेको इन्धन डिलर्ससम्म पुग्दा इन्धन पुग्दैन’ अध्यक्ष न्यौपानेले भने । पूरा मूल्य भूक्तानी गरेपछि पुरा परिमाणको इन्धन व्यवसायीले पाउनुपर्ने भन्दै उनले यसतर्फ कार्यालय प्रमुखको ध्यान जानुपर्ने बताए । व्यवसायीहरुले आफै अप्ठेरो र समस्यामा पर्ने गरी गलत काम नगर्ने भन्दै उनले निगमले व्यवसायीहरुलाई सम्मान गर्नुपर्ने बताए । 

    एशोसिएनका वरिष्ठ उपाध्यक्ष हिमाल गैरेले पेट्रोलियम व्यवसायी निगमसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए । यस क्षेत्रका व्यवसायीले विगत लामो समयदेखि इन्धन लसको समस्या भोग्दै आइरहेको भन्दै समस्या समाधान गर्नेतर्फ निगमको ध्यान जानुपर्ने बताए । एशोसिएसनका महासचिव हरिराम कसौधनले इन्धनको मूल्य बढे पनि व्यवसायीले पाउनुपर्ने कमिसन नबढ्दा घाटामा इन्धन विक्री गर्न बाध्य भएको गुनासो गरे । एशोसिएसनका प्रेस सल्लाहकार खिमानन्द भट्टराईले व्यवसायीका समस्या सम्बोधन गर्नेतर्फ नवआगन्तुक प्रमुखको ध्यान जानुपर्ने बताए । एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।