
आइतवार , आश्विन २, २०७९
भैरहवा, २ असोज ।
आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमबारे भैरहवास्थित भीम अस्पतालले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । भैरहवामा आयोजित उक्त कार्यक्रममा बोल्दै मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले सबै मिलेर आर्थिक वर्ष २०७८÷७९ मा अस्पतालमा राम्रो काम भएको बताए । उनले अस्पतालमा आवश्यक जनशक्तिको अभाव भएको बताइन् । उनले भनिन्, ‘अस्पतालबाट उत्कृष्ट सेवा प्रदान गर्न लागिपरेका छौं ।’ काम गर्ने क्रममा कमीकमजोरी हुने भएकाले ती कमीकमजोरीलाई सुधार गर्दै जाने उनको भनाइ थियो ।
अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले कोरोनाको बेला भीम अस्पतालले उत्कृष्ट काम गर्न सफल भएको दावी गरे । उनले अस्पतालमा विशेषज्ञ सेवा थप गर्दै जाने बताए । उनले भने, ‘बिरामीलाई अस्पतालबाहिर नजाने गरी सेवा सञ्चालन गर्न लागिपरेका छौं । ’ उनले सरकारी अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध हुने औषधी सरकारले अस्पताललाई उपलब्ध गराउनुपर्ने माग गरे ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका प्रतिनिधि खिमलाल पाण्डेले फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिन अस्पताललाई आग्रह गरे । उनले सीमित स्रोतसाधनमा भीम अस्पतालले राम्रो सेवा प्रदान गरेको बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले सिद्धार्थनगर नगरपालिकालाई स्वास्थ्य क्षेत्रमा अगाडि ल्याउन भीम अस्पतालको महत्वपूर्ण योगदान रहेको बताए । उनले विगतमा कोभिड–१९ विरुद्ध एकजुट भएर काम गरे जस्तै डेंगूविरुद्ध पनि एकजुट भएर काम गर्नुपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गीतादेवी न्यौपानेले सिद्धार्थनगर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको र यसको श्रेय भीम अस्पताललाई पनि जाने बताइन् । उनले भीम अस्पतालबाट सिद्धार्थनगर नगरपालिकाले राम्रो सहयोग पाएको बताइन् ।
भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षता, अस्पतालकी इन्डोर इञ्चार्ज भगवती रानाको स्वागत तथा प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले समीक्षात्मक प्रस्तुतीकरण गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij