२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

रुपन्देही जिल्ला अदालत बारको एशोसिएशनको अध्यक्षमा अधिकारी सर्वसम्मत

न्यायाधिश नियुक्तिबाटै न्याय क्षेत्रको सुधार आवश्यक : जिल्ला न्यायाधिश

आइतवार , आश्विन २, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २ असोज ।

    रुपन्देही जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ता शिवहरि अधिकारी निर्वाचित भएका छन् । शनिवार सम्पन्न एशोसिएशनको ५५ औं वार्षिक साधारणसभा तथा अधिवेशनले प्रगतीशिल तथा पेशागत कानून व्यवसायीहरुका उम्मेदवार अधिकारी सर्वसम्मत चयन भएका हुन् ।

    बार एशोसिएशनमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य प्रगतिशील तथा पेशागत कानुन व्यवसायीका तर्फबाट र उपाध्यक्ष, सह–सचिव र तीन सदस्य प्रजातान्त्रिक कानून व्यवसायीका तर्फबाट प्रतिनिधित्व हुने गरी सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति बमोजिम सबै पदहरुमा निर्विरोध भएको थियो ।

    एशोसिएशनको उपाध्यक्षमा विष्णुप्रसाद भुसाल, सचिवमा चोलाबहादुर कार्की, कोषाध्यक्षमा रीता खनाल र सह–सचिवमा साधना पाण्डे निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा जनक न्यौपाने, रामकुमार लोध, युवकराज रेग्मी, मंगला पाण्डे, माधव प्रसाद आचार्य, अवधविहारी दुवे, शैलेन्द्र प्रसाद हरिजन र कृष्ण प्रसाद रेग्मी रहेका छन् ।

    त्यसअघि अधिवेशन तथा बारद्वारा स्थापित पुस्तकालयको उद्घाटन रुपन्देही जिल्ला अदालतका न्यायाधिश कृष्णराम कोइरालाले गरेका थिए । सो अवसरमा उनले न्याय क्षेत्रलाई मर्यादित बनाउन वार र बेञ्च दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।

    जिल्ला न्यायाधिश कोइरालाले न्यायाधिश नियुक्ति प्रक्रियाबाट मात्र न्यायालय सुधार हुन सक्नेमा जोड दिए । उनले भने, ‘न्यायाधिश नियुक्ति गर्दा नै राम्रो व्यक्ति चयन हुन सक्दैन, न्याय क्षेत्रमा सुधारको अपेक्षा गर्न सकिदैन, सबैले यसमा ध्यान दिऊँ ।’

    कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता कमलराज जोशीले मर्यादित न्याय सम्पादनमा अदालत र कानूनी व्यवसायी दुवैको उत्तिकै भूमिका हुने बताए ।

    एशोसिएशनका अध्यक्ष लोकनाथ पन्थको अध्यक्षता तथा सचिव डण्डप्रसाद भट्टराईको सञ्चालनमा भएको उद्घाटन समारोहमा वरिष्ठ अधिवक्ताहरु गिरीराजविक्रम खड्का, गोपाल प्रसाद पाण्डे ‘अल्छी’, राममणि भुर्तेल, सुभाष धिताल र शिवप्रसाद गौडेल, नेपाल कानून व्यवसायी परिषदका सदस्य बाबुराम पाण्डे, पूर्वअध्यक्ष धर्म बहादुर खड्का, निवर्तमान अध्यक्ष नरसिंह चौधरी, पुस्तकालय ब्यवस्थापन समितिका सदस्य तुल्सीराम ढकाल, एशोसिएशनका उपाध्यक्ष शेषमन यादव लगायतले पनि मन्तव्य व्यक्त गर्दै न्याय क्षेत्रमा देखिएका विकृति, विसंगतिको अन्त्य गर्न पेशागत मर्यादामा जोड दिएका थिए ।

    सोही अवसरमा एशोसिएशनले स्थापना गरेको पुस्तकालयको जिल्ला न्यायाधिश कोइरालाले उद्घाटन गरेका थिए । साधारणसभाले वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।