
शनिवार , आश्विन १, २०७९
बुटवल, १ असोज ।
बुटवलमा अत्याधुनिक प्रविधिसहितको सिद्धार्थ डायग्नोष्टिक सेन्टर बुटवल प्रा.लि सञ्चालनमा आएको छ । बुटवलको अस्पताल लाइन भुड्की चोकदेखि पूर्व श्रवणपथमा शनिबार सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रा.लि.को औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।
विश्वकर्मा पूजाको अवसरमा बुटवलका सामाजिक तथा शैक्षिक व्यक्तित्व बसन्तराज खनालले एक समारोहकाबीच डायग्नोष्टिक सेन्टरको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले अन्य ल्याबमा भन्दा सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । बिरामीहरुको मन जितेर यसलाई ल्याबको पनि ल्याब बनाउनुपर्ने उनको भनाइ थियो । यहाँको सेवाले बिरामीको रोग निदानका लागी महत्वपूर्ण सहयोग पुर्याउन सके मात्रै यसप्रति बिरामीको विश्वास बढ्ने उनले बताए ।
बुटवलमा लामो समयदेखि विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरु र ८ जना विशेषज्ञ डाक्टरहरुको संयुक्त लगानीमा बिरामीहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सिद्धार्थ डायग्नोष्टिक सेन्टर शुभारम्भ गरिएको हो ।
दिशा पिसाब, खकार, वीर्य साथै रगतबाट हुने सम्पूर्ण परीक्षण, कलेजो, मुटु, मृगौला, थाइराइड तथा विभिन्न हर्मनहरुको दक्ष मेडिकल टेक्नोलोजिष्टहरुद्वारा जाँच गरी बिशेषज्ञ डाक्टरबाट परामर्श सेवा पाइने संस्थाका अध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए । विदेश जानेहरुका लागि प्री–मेडिकलको व्यवस्था समेत रहेको उनले बताए । यसका साथै बिरामीले यहाँबाट दैनिक २ घण्टा विशेषज्ञ डाक्टरबाट निःशुल्क परामर्श सेवा पाउनेछन् । त्यस्तै उनले बुटवलमा नै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ स्थापना गरेको बताए । बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सम्पूर्ण टीम लागेको उल्लेख गर्दै उनले आगामी दिनमा अझ थप सुविधाका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
शुभारम्भ कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र अर्यालको अध्यक्षता, संस्थाका सल्लाहकार सामाजिक तथा शैक्षिक व्यक्तित्व बसन्तराज खनालको प्रमुख आतिथ्यता, मेडिकल ल्याब्रेटरी एसोसीएसन नेपाल (मेलान) का केन्द्रिय उपाध्यक्ष रमेश पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा ज्योती विकास बैंक लुम्बिनी प्रदेशका प्रमुख कपिल न्यौपाने, मेलान रुपन्देहीका अध्यक्ष नारायण न्यौपाने, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका पूर्व अध्यक्ष डी.पी खनाल, व्यवसायी तथा समाजसेवी दलबहादुर सुनार, विभिन्न ल्याब्रेटरीका निर्देशक, विशेषज्ञ डाक्टर तथा विभिन्न विद्यालयका शिक्षकसँगै अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सिद्धार्थ डायग्नोष्टिक सेन्टरका सञ्चालक विष्णु गैरैले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij