
शनिवार , आश्विन १, २०७९
भैरहवा, १ असोज ।
नेपालका ९ वटा शहरको १८ स्थानमा एकैपटक रक्तदान गरिएको छ । भैरहवा, धरान, विराटनगर, धुलाबारी, रावविराज, वीरगंज, काठमाडौं, ललितपुर र कीर्तिपुरका विभिन्न ठाउँमा रक्तदान गरिएको हो । तेरापंथ युवक परिषद्, भैरहवा, धरान, विराटनगर, धुलाबारी, रावविराज, वीरगंज, काठमाडौं, ललितपुर र कीर्तिपुरले एकैपटक रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
अखिल भारतीय तेरापंथ युवक परिषदको समन्वयमा शनिबार नेपाल र भारतसहित विश्वका २ हजार भन्दा बढी स्थानमा एकैपटक रक्तदान गरिएको छ ।
‘मानव हो मानवको कुरा गरौं, आउँ संकलिप्त भई सबै रक्तदान गरौं’ भन्ने नाराका साथ रक्तदान शिविर गरिएको आयोजकले जनाएका छन् । नेपालसहित विश्वभर एकैपटक रक्तदान कार्यक्रमको आयोजना गरिएको तेरापंथ युवक परिषद्, भैरहवाका सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक अजय पारखले बताए । भैरहवास्थित मारवाडी सेवा संघको भवनमा आयोजना गरिएको कार्यक्रमबाट १ सय ८ युनिट रगत संकलन भएको पारखले जानकारी दिए । नेपालका विभिन्न शहरमा गरी १ हजार ८ सय युनिट भन्दा बढी रगत संकलन भएको पारखले बताए । रक्तदान कार्यक्रम आयोजना गरिएका ठाउँमा सम्बन्धित जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले समन्वय गरेर सहयोग गरेको उनले बताए ।
अन्य मुलुकमा भारतीय तेरापंथ युवक परिषदले समन्वय गरेको हो । आयोजकले यो विश्वकै सबैभन्दा ठूलो रक्तदान शिविर भएको दावी गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij